मन्त्री, नेता तानिने डरले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न सरकार डरायो : एमाले प्रमुख सचेतक
काठमाण्डाै – नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मन्त्रीहरू तानिने डरले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न सरकार डराएको दाबी गर्नुभएकाे छ ।
सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले उच्चस्तरका नेता र कर्मचारी तानिने डरले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न हिचकिचाइरहेको जिकिर गर्नुभयाे । उहाँले नेपाललाई सुन तस्करको अखडा बनाउने कुरा सह्य हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकार सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउन किन चाहन्न भने त्यहाँ मन्त्रीहरू तानिन सक्छन्, हाई प्रोफाइलका कर्मचारी, नेताहरू तानिन सक्छन् । त्यसैले सरकार उच्चस्तरीय छानबिन बनाउन तयार छैन, हामी नेपाललाई सुन तस्करको अखडा बनाउन चाहँदैनौँ । अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम भएको छ ।’
प्रमुख सचेतक गिरीले नेपाल सुन तस्करीको ‘हब’ बन्न लागेको भन्दै यसलाई राेक्नुपर्ने बताउनुभयाे ।







