गर्मी र वर्षातको समयमा किन बढी हुन्छ हेपाटाइटिस ए र ई?

जनपत्र
१५ श्रावण २०८०, सोमबार १७:४१

गर्मी महिना सुरु हुनासाथ विशेषगरी वर्षातको समयमा हेपाटाइटिस ए र ई बढी देखिने गर्छ। यो बिशेषगरी फोहर खानेकुरा, पानी र मलमूत्रको स्रोतमा मिश्रित भएर सर्ने गर्छ। बालबालिका, युवा तथा बृद्धबृद्धा सबैलाई यो रोगले आक्रमण गर्छ। दिशाबाट बाहिर जाने फोरोर तत्व पानीमा मिसिन गई संक्रामक हुन्छ। त्यस्तो दूषित पानी हामीले खायौं भने हेपाटाइटिस ए र ई हुन्छ।

गर्मी महिनामा धेरै पानी पिउने गरिन्छ, तर सबैले शुद्ध पानी पिउँछन् भन्ने हुँदैन। फोहोर पानीको सेवनले नै हेपाटाइटिस ए र ई हुने हो। हाम्रोमा ढल निकासकोे उचित प्रबन्ध नहुनाले पनि बारम्बार खाने पानी प्रदूषित भइरहेको हुन्छ। शुद्ध पानी, स्वस्थ खानाको अभाव, स्वास्थ्य चेतनाको अभाव आदिका कारण हेपाटाइटिस ए र ईले मानिसलाई आक्रमण गर्दछ।

हेपाटाइटिस ए र ई हुने कारणमा सडकपेटीमा बेच्न राखिएका काँक्रा, मेवा, खरबुजा, पानीपुरी पनि हुन्। सडकमा काँक्रा, मेवा, खरबुजा आदि पखाल्न प्रयोग गरिने पानी यसै पनि शुद्ध हुँदैन। सडकपेटीमा राखिएको पानीपुरीमा पनि शुद्ध पानीको प्रयोग भएको पाइँदैन। यस्ता खानेकुराले तुरुन्तै असर देखाउँछन्। यो रोगले साधारण असरदेखि ‘एक्युट लिभर फेलियर’ भएर मानिसको मृत्यु पनि हुन सक्छ।

शरीरमा हेपाटाइटिस ए जीवाणू प्रवेश गरेको दुईदेखि चार हप्तामा र हेपाटाइटिस ‘ई’ जीवाणू प्रवेश गरेको दुईदेखि आठ हप्तामा जन्डिसको देखिन थाल्छ।

हेपाटाइपिटस ए र ई भएमा एकदेखि दुई हप्ता अलिअलि ज्वरो आउने, खाने रुचि घट्ने, वाकवाकी लाग्ने, बान्ता हुने, दिसा तारन्तार हुने, पेटको दायाँ कोखा दुख्ने, शरीर दुख्ने आदि लक्षण देखा पर्छन्। प्रायः सबै भाइरलमा देखिने लक्षणहरू नै हेपाटाइटिस ए र ई मा पनि देखिन्छन्। यस्तो लक्षण देखिएमा भाइरलले कलेजोमा असर गरिसकेको हुन्छ। त्यसपछि शरीरिमा बिलुरुबिनको मात्रा बढ्दै गएर दिसा तथा पिसाबमा पहेँलोपना आउँछ। क्रमशः आँखा, जिब्रो, नङ, मुख र शरीर नै पहेँलो हुँदै जान्छ।

यसको कुनै विशेष उपचार छैन। बिरामी भएपछि आराम गर्ने र रोगका लक्षण अनुसार त्यसको उपचार गर्नुपर्छ। बिरामीले प्रसस्त झोलिलो तथा सफा र ताजा पौष्टिक खानेकुरा खानुपर्छ। बिरामीलाई आराम अत्यन्तै आवश्यक हुन्छ। यस्तो अवस्थामा जथाभावि जडीबुटी तथा एलोपेथीका औषधि प्रयोग गर्नु हुँदैन, जसका कारण कलेजो थप कमजोर भई काम गर्न नसक्ने अवस्थामा पुग्न सक्छ। यस्तै, बिरामीले अन्धविश्वासको भरमा बेसार, नुन, मासु आदि खानेकुरा बार्नु पर्दैन।

हेपाटाइटिस ‘ए’को भ्याक्सिन पाइन्छ तर ‘ई’को भने अनुसन्धानकै क्रममा छ। यसबाट बच्न खानपिनमा ध्यान दिनुपर्दछ। विशेषगरी खाना खानुअघि र पछि साबुनपानीले राम्रोसँग हात धुने, बाहिरको खाना नखाने, शुद्ध पानी पिउने, सकिन्छ भने पानी उमालेर मात्र पिउने गरेमा यसबाट बच्न सकिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*