क्यूआर भुक्तानी गरेपछि एसएमएस कुर्नुपर्ने बाध्यता हटाउने नेपाली प्रविधि-कोइली

जनपत्र
१५ श्रावण २०८०, सोमबार ०८:०७

क्यूआरमार्फत गरेको भुक्तानीको जानकारी तत्कालै आवाजमा बोलेर दिने नेपाली प्रविधि कोइली बजारमा आएको छ । डिजिटल नेटवर्क सोलुसन्सले तयार पारेको यो प्रविधिले सफल भएका कारोबारको जानकारी तत्कालै मानिसको आवाजमा दिन्छ ।

नेपालमा क्यूआर मार्फत भुक्तानी गर्नेको सङ्ख्या बढेसँगै ठगी पनि बढिरहेको भन्दै त्यसलाई रोक्न यो डिभाइस तयार पारिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण खत्रीले बताए । उनका अनुसार यो डिभाइसले कारोबार सम्पन्न हुँदा समेत एसएमएस नआउने, ढिलो आउने जस्ता समस्या हटाउने छ ।

“ग्राहकले पसलमा गएर क्यूआरबाट पैसा तिरेको भन्ने, तर पुरानो स्क्रिनशट देखाउने, कारोबार भएको निश्चित नहुँदा कुरेर बस्नुपर्ने जस्ता समस्या क्यूआरमा छन्,” उनले भने, “यी सबै समस्याको समाधान गर्न कोइली ल्याएका हौं ।”

यो डिभाइसमार्फत कारोबार सम्पन्न भए प्रयोगकर्ताले आफ्नै भाषामा त्यसबारे जानकारी प्राप्त गर्न सक्छन् । साथै कारोबारका लागि विभिन्न कार्ड प्रयोग गर्दा लाग्ने खर्च पनि यसले जोगाइदिने उनले बताए ।

हाल कम्पनीले विभिन्न बैंकसँगको सहकार्यमा यो डिभाइस बजारमा पुर्‍याउन थालेको छ । विशेषतस् मर्चेन्टहरूलाई यो डिभाइस उपयोगी हुने उनको भनाइ छ ।

डिभाइसमा बैंक खाता खोल्दा प्रयोग गरिएको सिम कार्ड राख्नुपर्छ । तर यसलाई सक्रिय गराउन इन्टरनेटमा भने जोडिएको हुनुपर्छ ।

डाइरेक्ट मेसेजिङ सिस्टम भएकाले यसमार्फत कारोबारबारे सन्देश तुरुन्तै प्राप्त हुने कम्पनीले जनाएको छ । एक पटकको फुल चार्जमा १२र१३ दिनसम्म चलाउन सकिने यो उपकरण मोबाइल चार्ज गरे जस्तै गरी चार्ज गर्न सकिन्छ ।

आर्थिक ठगीबाट बच्न, वित्तीय पहुँच बढाउन, आफ्नै भाषामा कारोबारको जानकारी पाउन चाहने मर्चेन्ट तथा व्यवसायलाई यो डिभाइस उपयोगी हुने सीईओ खत्रीले जनाए । साथै नेपाललाई नगद रहित र कार्ड रहित बनाउन यो डिभाइस कोशेढुङ्गा सावित हुने दाबी पनि उनले गरे ।टेकपानाबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*