बाढीले नहरमा क्षति पुर्याउँदा तीन हजार परिवार अन्धकारमा
भारी वर्षासँगै आएको बाढीका कारण मुगुको छायानाथ रारा नगरपालिकास्थित गमगाढ साना जलविद्युत् आयोजनामा क्षति हुँदा झन्डै ३ हजार परिवार अन्धकारमा छन् । भारी वर्षासँगै गमखोलाबाट बालुवा र लेदो बगेर गमगाढ जलविद्युत् आयोजनाको नहरमा पस्दा विद्युत् सेवा अवरुद्ध बनेको हो ।
विद्युत् सेवा अवरुद्ध भएपछि सदरमुकाम गमगढी आसपासका गाउँ अन्धकारमय बनेका हुन् । दिउँसो नहर सफा गरे पनि राति लेदो र बालुवा भरिएर फेरि समस्या उत्पन्न हुने गरेको छ ।
नहरको लेदो र बालुवा सफा गर्दै हैरान भइसकियो,’ ऐडीले भने, ‘दुई साता भइसक्यो, विद्युत् पुनः सुरु गर्न सकिएको छैन ।’ विद्युत् सेवा अवरुद्ध हुँदा गमगढीसहित कार्कीबाडा, भामबाडा, ढुम, श्रीनगर, पिना, ताल्च, बालै, रुघा, थार्पलगायत दुई दर्जन बस्ती प्रभावित बनेका छन् ।
विद्युत् नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयका साथै बैंक र वित्तीय संस्थाको नियमित कामकाज गर्न पनि कठिनाइ भएको छ । विद्युत् समस्या हुँदा स्थानीयले प्रतिघण्टा एक सय रुपैयाँसम्म तिरेर जेनेरेटरबाट मोबाइल चार्ज गर्नुपरेको छ । ‘बिजुली नहुँदा बजार पनि सम्साँझै सुनसान हुन्छ,’ स्थानीय कर्णराज गिरीले भने, ‘व्यापार व्यवसाय चौपट भयो, दैनिक कामकाज गर्न पनि समस्या भएको छ ।’
०६८ सालदेखि सञ्चालनमा आएको ४ सय किलोवाटको आयोजना हरेक बर्खामा अवरुद्ध हुने गरेको छ । गत वर्ष पनि असोज १९ देखि २३ सम्मको भीषण वर्षाले उक्त जलविद्युत् आयोजनालाई क्षतिग्रस्त बनाएको थियो ।
मुगुमा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारको काम पनि सुस्त छ । छिमेकी जिल्ला जुम्ला र कालीकोटमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार भए पनि मुगुमा कामै हुन नसकेको स्थानीय अगुवा देवेन्द्र शाहीले बताए ।इकान्तीपुरबाट ।







