कहाँ हरायो खेलाडीको पुरस्कार रकम ?
काठमाडौं । नेपालले यूएईलाई ७ रनले हराउँदै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाएलगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ टिमका प्रत्येक खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गर्यो ।
पुरस्कार तथा सम्मान कार्यविधि अनुसार टिमका हरेक सदस्य जनही ३ लाख रुपैयाँको हकदार भए । त्यसमाथि क्रिकेट संघ, प्रदेश सरकार र स्थानीय पालिकाहरूले पनि आफ्नो क्षेत्रका क्रिकेटरहरूका लागि नगद पुरस्कार घोषणा गरे ।
क्रिकेट संघले पनि खेलाडीलाई आफ्नो बैंक खाता उपलब्ध गराउन आग्रह गर्यो । १७/१८ वर्षका खेलाडीमध्ये कतिको आफ्नो बैंक खाता थिएन । उनीहरूले हतार–हतार खाता खोले । आफ्नो स्थायी लेखा नम्बर (प्यान) पनि बनाए ।
कतिपयले वैदेशिक प्रशिक्षणका लागि भारत जाने योजना बनाए । किनकि यो भविष्यका लागि आफैंमाथि लगानी गर्ने समय पनि थियो । तर सरकार र क्रिकेट संघले अहिलेसम्म पुरस्कार रकम उपलब्ध गराउन सकेको छैन । ‘प्यान पनि बनाइयो, खाता नम्बर पनि पठाइयो तर पैसा आएन’ यू–१९ का एक क्रिकेटर भन्छन्, ‘पैसा आए भारत जाने भनेको हो, अहिलेसम्म पैसा नै आएको छैन ।’
प्रशिक्षणका लागि भारत पुगिसकेका यू–१९ टिमका एक क्रिकेटर पनि पाउनुपर्ने पुरस्कार रकम उपलब्ध भए निकै सहज हुने सुनाउँछन् । भन्छन्, ‘पैसाको निकै खाँचो परेको छ । आउनुपर्ने पैसा आइदिए कति सहज हुन्थ्यो !’
मासिक ४५ हजार भारु तिरेर भारतमा प्रशिक्षण लिइरहेका अर्का क्रिकेटरका अनुसार पुरस्कार रकम आउँछ भनेपछि परिवारले खर्च जुटाएर पठाएको थियो । ‘अब त घरमा भन्न गाह्रो भइसक्यो’ उनले भने, ‘सरकारले पैसा दिन्छ भनेर घरमा भनेको थिएँ । पैसा आयो भनेर सोध्नुहुन्छ, मसँग जवाफ हुन्न ।’
संघदेखि अर्को संघ, मन्त्रालय र सरकारी कारबाही भन्दै हालसम्म पनि तोकिएको रकम नपाउँदा खेलाडीमा नैराश्यता बढेको पाइन्छ । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ विश्वकपमा छनोट भएर फर्किएका खेलाडीको नामावली कार्यसूची अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) मा पठाएको तीन महिना बढी भइसक्यो । तर पनि रकम भने खेलाडीको खातामा पुग्न सकेको छैन ।
मलेसियामा सम्पन्न एसीसी इष्ट जोन कप जितेको यू–१६ टिमले सरकारी निर्देशिका अनुसार ३ लाख र क्रिकेट संघले घोषणा गरेको ५० हजार गरी ३ लाख ५० हजार पाउन पनि बाँकी छ ।
उमेर समूह मात्र होइन, सिनियर टिमको अवस्था पनि उही छ । आईसीसी क्रिकेट लिग टूको शीर्ष ३ मा पर्दै विश्वकप छनोटमा स्थान बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई मात्र दिएनन्, जनही ३ लाख रुपैयाँ पुरस्कार घोषणा गरे । पुरस्कार तथा सम्मान कार्यविधि अनुसार टिमका सदस्यहरूले जनही ६ लाख रुपैयाँ पनि पाउनुपर्ने हो ।







