थरीथरीका प्रदर्शनले माइतीघरको सडक अस्तव्यस्त, ‘सडकमै भात पकाएर खानु बाध्यता’
गोरखा बारपाक–२ का तेलबहादुर घले माइतीघरमा धर्ना बसेको दुई महिना भयो । माइतीघरमा आन्दोलन तथा धर्ना गर्नेमा उहाँ सबैभन्दा पुरानो हुनुहुन्छ। उहाँसँगै र पछि आन्दोलन थालेका धेरै माइतीघरबाट बिदा भएर हिँडिसके । धेरै नयाँ थपिएका पनि छन् । उहाँ एक्लै धर्नामा हुनुहुन्छ । त्यसकारण उहाँको उपस्थिति हत्पति देखिँदैन । तर, मङ्गलवार भने उहाँ आफ्नो नियमित आन्दोलन गरिरहनु भएको ठाउँमा नभएर ठीक त्यसको अगाडि सडक पेटीमा राखिएको बेञ्चमा बसेर लघुवित्तकोविरुद्धमा भइरहेको आन्दोलन हेरिरहनुभएको थियो ।
‘दुई महिना भइसक्यो धर्नामा बसेको । न कसैले केही सम्पर्क गर्छ, न कोही कुरा गर्न आएको छ । यो झरी, बर्खामा रुझेर, भिजेर कति बसिरहने हो थाहा छैन,’ घले भन्नुहुन्छ, ‘हामी यहाँ रहरले बस्न आएको होइनौँ । हाम्रो माग चाँडै सुनुवाइ भए किन यहाँ बसिन्थ्यो र यो धुलो, धुवाँ खाएर । मान्छे धेरै भएपछि फोहर पनि हुन्छ ।’
मनास्लु हिमाल जाने बाटोको धार्चे गाउँपालिकामा होटल सञ्चालन गर्ने घलेको होटल आरुघाट लार्के भञ्ज्याङ जोड्ने सडक सेनाले बनाउँदा विस्फोट गर्दा क्षति पुग्यो । २०७५ साल असोज १४ गते विस्फोट गर्दा होटलमा क्षति पुगेपछि क्षतिपूर्ति दिने कुरा पनि भएको थियो । सेनाले १३ लाख ८२ हजार रुपैयाँ क्षतिपूर्ति दिने कुरा गर्यो । तर, आफ्नो ४५ लाख रुपैयाँ खर्च भएकोमा यति पैसाले काम छैन भनेर उहाँले अस्वीकार गर्नुभयो । तर पनि सेनाले जर्बजस्ती १३ लाख रुपैयाँ लिन लगाएको घले बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘मेरो खर्च भएको सबै रकम त के दिन्थे र तर, ४५ लाखमध्ये १३ लाख लिइसकेको हुनाले अब बाँकी ३१ लख रुपैयाँ पाउनुपर्यो भन्ने हो ।’
यही माग लिएर उहाँले माइतीघरमा धर्ना थाल्नुभएको हो । सिंहदरबारको सामुन्नेमा रहेको माइतीघरमा अरु खालका धर्ना पनि भैरहन्छन् । अहिले माइतीघरमा लघुवित्तकोविरुद्धमा धर्नामा बस्नेहरुको सङ्ख्या धेरै छ । झण्डै तीन/चार सय जना आन्दोलनमा छन् । उनीहरुको सङ्ख्या धेरै भएपछि अहिले माइतीघरमा भिडभाड पनि बढेको छ । यसअघि सहकारी विरुद्धको आन्दोलनमा अलि भिड थियो । तर, अहिले त्योभन्दा पनि भिड छ । लघुवित्तविरुद्धको आन्दोलनमा आएकाहरु त्यहीँ सडकमै भात खान्छन् । आफ्ना घरजग्गा लघुवित्तको बन्धकीमा परेपछि उनीहरु आन्दोलनका लागि माइतीघर आएका हुन् । खाने, बस्ने, सुत्ने ठेगान नभएपछि उनीहरुको आश्रयस्थल बनेको छ सडक ।
लघुवित्तविरुद्धको आन्दोलनमा कैलालीको मोहन्याल गाउँपालिका–७ बाट आउनुभएको छ बबिता चौधरी । चौधरीका अनुसार उहाँहरुले पालिका तथा अन्य निकायमा पनि लघुवित्तकाविरुद्ध आवाज उठाउनु भएको हो । तर, कहीँ पनि सुनुवाइ भएन । त्यहाँबाट अब आन्दोलन गर्न काठमाण्डौ गएपछि मात्रै समस्या समाधान हुन्छ भनेकोले उहाँहरु माइतीघर आउनु भएको हो ।
‘लघुवित्तमा ऋणी धेरै महिला छन् । उनीहरु लेखपढ गर्न सक्दैनन् । अनि कर्मचारीले जहाँ जहाँ भने उतै सही गरे । अहिले समस्या आयो । गाउँमा बस्नै गाह्रो भयो । कर्मचारीले आएर धम्काउँछ । त्यही भएर यहाँ आएको,’ चौधरी भन्नुहुन्छ, ‘राष्ट्र बैंकले यो समस्या समाधान गर्न सक्छ रे भन्ने सुनेर हामी यहाँ आएको ।’
चाैधरीको घरमै काम बित्दो छ । भखैरै रोपाइँ सकियो । खेतबारी हेर्न भ्यानभ्याइ छ । घरमा कुखुरा बाख्रा छन् । साना नातिनातिना छन् । तिनको पनि हेरविचार गर्नुपर्ने छ । तर, पनि आन्दोलनमा आउनु बाध्यता रहेको चौधरी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘घरमा हेर्ने मान्छे कोही छैन । भ्याइनभ्याइ छ । तर, यहाँ कैलालीदेखि हिँडेर रुझ्दै भिज्दै आउनु परेको छ । यहाँ पनि कहाँ सजिलो छ र । बस्ने, खाने ठेगान छैन । हाम्रो समस्या समाधान भए हामी हिँडिहाल्छौँ । एक मिनेट पनि बस्दैनौँ ।’
लघुवित्तकोविरुद्धको आन्दोलनमा सहभागी भएकाहरुलाई जय महाङ्काल युवा समूहले सडकमा खाना खुवाइरहेको छ । ‘भोकालाई भोजन, प्यासीलाई पानी’ भन्ने नारा लेखिएको रातो ज्याकेट लगाएका युवाहरुलाई खाना ख्वाउन त्यस्तै भ्याइनभ्याइ छ । कोही प्लेट बाँड्दै छन् । कोही भात, दाल अनि तरकारीको भाँडो लिएर प्लेटमा हाल्न व्यस्त छ । भिड ठूलो भएकोले बाँड्न पनि गाह्रो परिररहेको देखिन्छ ।
खाना खाइसकेपछि त्यहाँ बढी भएका खानाका प्लेटहरु छरपस्ट भए । भातका सिताहरु पनि यत्रतत्र भए । तर, जय महाङ्कालका स्वयम्सेवी युवाहरुले त्यसलाई टिपेर ठूलो झोलामा हाले । छरिएका भात पनि टिपे।







