गौरिका सिंहको नयाँ कीर्तिमान
गौरिका सिंहले जापानको फुकुओकामा जारी २०औँ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नयाँ कीर्तिमान कायम गरेकी छिन् ।
नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा गोहाटीमा आयोजना भएको १२औँ साग गेम्समा राखेको ३१.८७ सेकेण्डको समयमा सुधार गर्दै ३१.४४ सेकेण्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।
यसअघि गौरिकाले यसै च्याम्पियनसिपमा १०० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ कीर्तिमान राखिसकेकी छिन् ।
ओलम्पिकको छनोट प्रतियोगितासमेत रहेको च्याम्पियनसिपको बुधबार भएको पुरुषतर्फको १०० मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले पनि आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।
एलेक्सले पुरानो समय ५२.९६ सेकेण्डको समयमा सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड राखेका हुन् । एलेक्सले हालै सम्पन्न ११औँ एनएसए कप च्याम्पियनसिपमा ५२.९६ सेकेण्ड समयको कीर्तिमान राखे ।







