बर्खामा ठप्प हुन्छन् बर्सेनि करोडौं खर्चिएर बनाइएका मकवानपुरका ग्रामीण सडक

जनपत्र
९ श्रावण २०८०, मंगलवार ०८:२९

हेटौंडा । बाढीपहिरोका कारण मकवानपुरका ग्रामीण सडक अवरुद्ध हुँदा पैदलयात्रा गर्न र सवारीसाधन सञ्चालनमा समस्या भएको छ। सडक बिग्रिएपछि ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन्।

बिशेषगरी मकवानपुरका दश वटै स्थानीय तहका भित्री कच्ची सडकहरु सामान्य बाढी र पहिरो खस्दा पनि अबरुद्ध हुन थालेका छन् । पहिले गाउँमा बस, बटो लगायतका साना गाडीहरु टोल टोलमा पुग्ने भएपनि अहिले भने सञ्चालनमा समस्या भएको छ ।

मकवानपुरका दश वटै स्थानीय तहले भएका सडकको स्तरोन्नति गर्नुभन्दा नयाँ सडक निर्माण प्राथमिकतामा पर्ने गरेकाले जिल्लाका अधिकांश ग्रामीण सडक वर्षाको समयमा अवरुद्ध हुन्छन्। सडकमा खाल्डाखुल्डी हुनाका साथै हिलोका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बताउँछन्।

मकवानपुरको बिशेषगरी राक्सिराङ, कैलाश, मनहरी, हेटौंडा उपमहानगरपालिकाका बिकट क्षेत्रहरु, मकवानपुरगढी, बागमती, बकैया, भीमफेदी, इन्द्रसरोवर, थाहा नगरपालिका क्षेत्रका भित्री सडकहरु अबरुद्ध हुन थालेको स्थानीयहरुले बताएका छन् ।

बर्षाको समयमा कच्ची सडक सञ्चालनमा कठिनाइ हुने गरेको र ओहोरदोहोर गर्नका लागि पनि निकै समस्या भोग्नुपरेको मकवानपुरगढीका मानबहादुर स्याङतान बताउँछन् । ग्रामीण सडक वर्षाको समयमा जति मर्मत गरे पनि एक दिनको झरीले पूरै बिग्रिने भएकाले तत्काल सञ्चालन गर्न समस्या हुने गरेको भीमफेदी गाउँपालिकाका जनप्रतिनिधिहरु बताउँछन् । अहिले अनावश्यकरुपमा रकम खर्च गर्नुभन्दा वर्षायाम सकिएपछि सडक स्तरोन्नति गर्दा प्रभावकारी हुने भएकाले वर्षापछि मर्मत गर्ने तयारी रहेको जनप्रतिनिधिहरुले बताएका छन् ।

हिउँदयाममा उपभोक्ता समिति मार्फत यहाँका पालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी नचल्दा आवागमनमा सास्ती खेप्नु परेको स्थानीयको गुनासो छ । उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएकाले वर्षामा खाल्डाखुल्डीका कारण गाडी गुड्ने अवस्थामा नभएको हेटौंडा–१९ का लालबहादुर थिङ बताउनुहुन्छ ।

एक दशक अगाडिसम्म यहाँका ग्रामीण क्षेत्रमा बेग्लै रौनक थियो। बस्ती मोटरबाटोले जोडिएका थिएनन्। सदरमुकाम हेटौंडा बजार र गाउँपालिकाका बजारबाट गाउँ उक्लिन गोरेटो बाटोबाट जानुपर्ने बाध्यता थियो । तर, अहिले जिल्लाका सबै वडा तथा टोलटोलमा सडक पुगेको छ।

स्थानीय सरकारको स्थापनापछि पहिलो प्राथमिकतामा सडक परेको छ। र त्यही अनुसार काम पनि भएको छ । तर, वर्षायाम सुरु भएपछी सडकहरु अबरुद्ध हुने गरेका छन् ।
‘विना इञ्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकारात्मक असर पुर्‍याइरहेको स्थानीयहरुले बताएका छन् । स्थानीय तहले हरेक वर्ष सडक निर्माणका लागि करोडौँ बजेट खर्च गरे पनि सडक गुणस्तरीय नहुँदा स्थानीयले सास्ती भोग्नु परेको बताउँछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*