मौद्रिक नीति : महँगी साढे ६ प्रतिशतमै सीमित, शेयर बजार र घरजग्गा कारोबारमा धेरै पुरानै व्यवस्था

जनपत्र
७ श्रावण २०८०, आईतवार १४:१७

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको उल्लेख गरेको छ ।

मूल्यवृद्धिलाई साढे छ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै शेयर बजार र घरजग्गा कारोबारमा मौद्रिक नीतिले धेरै परिवर्तन गरेको छैन । पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाखलाई बढाएर दुई करोड रुपैयाँ पुर्‍याउने उल्लेख छ । घरजग्गा धितोमा कर्जा लिँदा बजार मूल्यको अनुपातमा काठमाण्डाै उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य ठाउँमा बढीमा ४० प्रतिशतसम्म मात्रै लिन पाइने व्यवस्था यथावत् नै रहेको छ ।

नीतिमा बैंक तथा वित्तीय संस्थाको सुझावसमेतको आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने उल्लेख छ ।

यस्तै भारतबाहेक अन्य देशको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म १५ सय अमेरिकी डलरसम्म सटही सुविधा उपलब्ध गराइँदै आएकोमा अब वार्षिक २५ सय डलर पुर्‍याउने पनि उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*