बाँकेमा एक सय ६० उद्योग बन्द
बाँकेमा गत आर्थिक वर्ष २०७९र८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगीरव्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका उहाँको भनाइ छ ।
कोभिड–१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन् । कैयौँ उद्योगीरव्यवसायी नेपालगञ्जबाट विस्थापित भएको उहाँको भनाइ छ ।
जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या पनि गत आर्थिक वर्षमा घटेको छ । आर्थिक वर्ष २०७८र७९ मा एक हजार सात सय १२ नयाँ उद्योग दर्ता भएकामा आर्थिक वर्ष २०७९र८० मा जम्मा आठ सय ७६ मात्र नयाँ उद्योग दर्ता भएका निमित्त प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आवमा कृषि तथा वनजन्यतर्फ तीन सय ६५, उत्पादनमूलक एक सय ४०, पर्यटन सम्बन्धी एक सय ३२ र सेवामूलक दुई सय ३९ गरी कूल आठ सय ७६ उद्योग दर्ता भएका छन् ।
गत आवमा तीन सय १४ उद्योग नवीकरण भएका बुढाथोकीले बताउनुभयो । नयाँ उद्योग दर्ता तथा नवीकरणबापत रू ८५ लाख ३० हजार एकसय ५० राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।







