वीरगञ्ज महानगरमा खानेपानीको हाहाकार, ५ लिटर पानीका लागि ३ घण्टा संघर्ष
वीरगञ्ज महानगरपालिका-१२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको सङ्घर्षपश्चात् बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सके ।
खानेपानीको खाली जार बोकेर बिहान ४ बजे घरबाट निस्केका साहले वीरगञ्ज बजारको मुख्य सडक र गल्लीमा जडान भएका ट्युबवेल तथा धारा चाहार्दै करिब पाँच किलोमिटर पैदलयात्रा गरेर बिहान ७ बजेसम्ममा बल्लतल्ल पाँच लिटर खानेपानी जम्मा पारे ।
साहले भने, ‘लामो समयदेखि वर्षा नभएर घरमा जडान गरिएका ट्युबवेल सुकेर पानी आउनै छाडेको छ, त्यसैले पानीको जोहो गर्न खाली जार बोकेर बिहानै ४ बजे घरबाट निस्के तर सडक छेउका अधिकांश ट्युबवेल सुकिसकेकाले थोरैथोरै पानी जम्मा गर्दैगर्दै घन्टाघरसम्ममा ५र६ लिटर पानी जोहो गर्न सकियो, जोहो गरिएको पानीले अहिले तत्काल केहीबेरका लागि त समस्या टर्यो, तर दिनभरि कसरी चलाउने भन्ने चिन्तामा छौँ ।’
आफ्नो ५ जनाको परिवारलाई दैनिक कम्तीमा एक सयदेखि एक सय ५० लिटर पानी चाहिने उनी सुनाउँछन् । भन्छन्, ‘सङ्घर्ष गरेर जोहो गरिएको ५र६ लिटर पानीले खाना पकाउन त सकिन्छ, तर के पिउने, भाँडा केले धुने र कसरी नुहाउने भन्ने समस्यामा छौँ ।’
बिहानै ५ बजे उठेर नुहाइधुवाइ गरेर नियमित पूजाआज गरी मात्र दैनिक काममा निस्किने वीरगञ्ज–६ का राजेश गुप्ताले पानी अभावमा न नुहाएको चार दिन भइसक्यो । मिनाबजारमा पसल सञ्चालन गर्दै आएका गुप्ता भन्छन्, ‘घरमा खानेपानीका लागि जडान गरिएको ट्युबवेलबाट पानी आउन छाडेको छ, छिमेकीको घरमा जडान भएको खानेपानी धाराबाट पानी ल्याएर पिउने गरेका छौँ ।’
पर्याप्त पानी नभएकाले तीनरचार दिनदेखि नुहाउन नपाएको उनले बताए । परिवारका १० सदस्यका लागि दैनिक खाना पकाउने वीरगञ्ज-१४ भिस्वाकी सुमित्रादेवीलाई घरमा खानेपानी नहुँदा समस्या भएको छ । ‘खाना पकाउन पानी चाहिन्छ, तर ट्युबवलेमा पानी आउँदैन, यस्तो अवस्थामा खाना कसरी बनाउने र भाँडाकुँडा कसरी धुन्ने भन्ने चिन्ताले पिरोलिरहेको छु, उनले चिन्ता जनाइन् ।’
गर्मी मौसममा खानेपानीको समस्या बर्सेनि हुने गरे पनि अहिलेको जस्तो खानेपानीको हाहाकार कहिले नदेखिएको स्थानीय ७५ वर्षीय शङ्कर साह कलवारको भनाइ छ । यो समस्या वीरगञ्जका लडु, राजेश, समित्रा वा शङ्करको मात्र होइन वीरगञ्जका अधिकांशको समस्या हो । वीरगञ्जका अधिकांश क्षेत्रमा अहिले खानेपानीको हाहाकार छ । लामो समय खडेरी परेपछि पानीका मुहान सुक्न थालेपछि चापाकललगायतका धारामा एकाएक पानी आउन छाडेको हो ।
लगातार ४० देखि ४५ डिग्रीसम्मको गर्मीले पानीका मुहान सुक्दै जाँदा खानेपानीको समस्या भएको स्थानीयको भनाइ छ । वीरगञ्जको छपकैया, मिनाबजार, भिस्वा, नगवा, मुर्ली, तेजारथ टोल, प्रतिमा चोक, ब्रह्म चोक, भन्सारलगायतका क्षेत्रमा स्थानीयले खानेपानीका लागि आआफ्नो घरमा जडान गरेको चापाकल सुक्दै गएको छ ।सिलापत्रबाट साभार ।







