मकवानपुरमा अफिम र गाँजा फडानी मात्र गर्ने होइन त्यसको विकल्प दिने डिआइजी

हेटौँडा । मकवानपुर जिल्लाको विकट गाउँमा हरेक वर्ष सयौ प्रहरीले गाँजा र अफिम फडानी मात्र गरे । किसानले लगाएको गाँजा हुर्किएर भित्रयाउने समयमा धेरै ठाउँमा फडानी गरियो । गाँजाको ब्याडमै नष्ट गर्ने भन्दा पनि पछी भित्रयाउने समयमा जाँजा फडानी गर्दा किसानहरुको महिनौ देखिको मेहनत त्यसै खेर जाने गरेको छ ।
प्रहरीको जनसक्ति पनि त्यतीबेला धेरै लाग्ने गरेको थियो । तर, वषौ देखि लगाएको गाँजाको विकल्प दिनका लागि प्रहरी आफै अघि सरेको छ । मकवानपुरको राक्सिराङ, कैलाश गाउँपालिका लगायतका बिकट क्षेत्रका किसान हरेक वर्ष गाँजा लगाइरहने प्रहरी भने फडानी गरिरहने परिपाटीलाई अन्त्य गर्नका लागि प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक किरण राणाले गाँजाको विकल्पमा कफि खेती गर्नका लागि किसानलाई प्रोत्साहित गर्नु भएको छ ।
किसानले गाँजा लगाउनु भन्दा कफि लगाएमा उनीहरुलाई धेरैनै फाइदा हुने भएकाले विकल्प दिएको बताउँदै उहाँ भन्नुहुन्छ–‘कफिले करिब ७० वर्ष सम्म फल दिइरहन्छ । अब गाँजा होइन कफि खेती गरेमा किसानलाई पनि फाइदा हुन्छ त्यसैलेनै हामिले गाँजाको विकल्पका रुपमा कफिका बिरुवाहरु निरन्तर रुपमा वितरण गरेका हौं ।’
अहिले चितवन र मकवानपुरका गाँजा खेती हुने क्षेत्रमा कफिका विरुवा वितरण गरेर रोप्ने काममा पनि प्रहरीले सघाएको छ । गाँजा खेती हुने क्षेत्रमा ५ लाख वटा विरुवा वितरण गर्ने लक्ष राखिएको उहाँले बताउनुभयो । बागमती प्रदेशका बिकट गाउँमा गाँजाको विकल्प कफि खेतीमा प्रोत्साहित गर्ने अभियानले किसान पनि खुसी भएका छन् । सधैका वर्षहरुमा आफुहरुले गाँजा खेती गर्ने, प्रहरी आएर फडानी गर्दा मेहनत र लगानी समेत डुब्ने भएकाले अब कफि खेती गर्ने किसानहरु बताउँछन् ।
मकवानपुरको राक्सीराङमा गाँजाको बिकल्पको रुपमा कफीको विरुवा रोपण गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राक्सीराङ गाउँपालिका–५ ठाडेचुरेमा गाँजाको बिकल्पको रुपमा कफीको विरुवा वृक्षारोपण गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको नेतृत्वमा भएको कार्यक्रममा ४ हजार कफीको विरुवा वृक्षारोपण गर्नुका साथै १५ हजार बिरुवाहरु राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको थियो ।
मास्के मल्टि प्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रालि चितवनसँगको सहकार्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कफिको बिरुवाहरुको वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताउनुभयो । मास्के मल्टि प्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रा।लि। चितवनका प्रमुख धन बहादुर श्रेष्ठले ५ लाख बिरुवाहरु हस्तान्तरण गर्ने योजना रहेको जानकारी गराएका छन् ।