छोरी जन्मेपछि फरार भएका श्रीमानको जिम्मामा श्रीमती

जनपत्र
२९ श्रावण २०७६, बुधबार ०६:५९

छोरी जन्मेको भन्दै श्रीमती र नाबालक छोरीलाई छाडेर गएका श्रीमानको जिम्मा लगाइएको छ । जुम्ला पातारासी गाउँपालिका तल्फी गाउँ निवासी ३५ वर्षीया पुतली महतारालाई स्थानीय प्रशासन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, गाउँपालिका र सरोकारवाला निकायको पहलमा घरमा फिर्ता गरिएको छ ।

अस्पतालमा बच्चा जन्मेपछि श्रीमान् वीरबहादुर बोहराले छोरी जन्मेको चित्त नबुझेपछि सुत्केरीलाई अस्पतालमै छाडेर उनी घरतिर लागेपछि सुत्केरी पुतली साहारा खोज्दै उनी एक स्थानीय सञ्‍चारमाध्यममा पुगेकी थिइन् । श्रीमानले छाडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जानसमेत कठिन भएपछि सो दिन पत्रकार र प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको पहलमा अस्पतालमा आश्रयका लागि राखिएको थियो ।

आपत्कालीन रुपमा उनलाई प्रतिष्ठानको इमर्जेन्सी विभागको ( अवजरवेसन) कोठामा राखिएको थियो  । पुतलीको आश्रय नै नभएपछि विशेष हेरचाहसहित निःशुल्क रुपमा राखिएको थियो । श्रीमानले छाडेर गएको खबर सरोकारवाला निकायले थाहा पाएपछि प्रहरीले बीरबहादुरलाई सदरमुकाम पुर्‍याएको थियो । गाउँपालिकाको सहयोगमा एम्बुलेन्समा घर फर्काइएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिइन् ।

पुतली बच्चा जन्माउनका लागि भर्ना हुन साउन ७ गते सदरमुकाम आएको र साउन १३ गते बच्चा जन्मिएको थियो । श्रीमानले अब राम्ररी मिलेर बस्ने र स्याहारसुसार गर्नेसमेत बताएका गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले जानकारी दिए । उन तीन छोरा र तीन छोरी छन् । – रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*