मेसीको इन्टर मियामीमा डेभ्यु खेलको टिकट ९०० प्रतिशतले बढ्यो

जनपत्र
२ श्रावण २०८०, मंगलवार ०६:४५

अमेरिकी क्लब इन्टर मियामीमा गर्ने डेभ्यु खेलको टिकट मुल्य ९०० प्रतिशतले बढेको बताइएको छ । इन्टर मियामीमा गएको औपचारिक घोषणा र क्लबले आफ्ना फ्यानहरु समक्ष मेसीलाई प्रस्तुत गरिसकेपछि अब उनको पहिलो खेलको प्रतिक्षा भइरहेको छ ।

अब अमेरिकामा मेसीको डेभ्यु खेल हेर्न भने फ्यानहरुले ठुलो मुल्य चुकाउनु पर्ने भएको छ । लिग कपमा इन्टर मियामीको शुक्रबार खेलबाट क्लब अहिले धमाधम टिकट बेचिरहेको छ । इन्टर मियामीका यसअघिका खेल भन्दा अहिले टिकटको मुल्य ९०० प्रतिशतसम्मले बढेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

टिकट रिसेलिंग वेबसाइट भिभिडमा गरिएको सीटहरूमा गरिएको खोज अनुसार इन्टर मियामीको शुक्रबार हुने क्रुज अजुलविरुद्धको खेलका टिकट अहिलेसम्मकै रेकर्ड गरिएको सबैभन्दा महँगो मूल्यहरूमा बिक्रि भइरहेको बताइएको छ ।

मेसीको डेभ्यु खेलका लागि टिकटको औसत मूल्य ४८७ डलर रहेको छ । फ्यानहरुले राम्रो सिटका लागि ६ हजार डलरसम्म तिरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । त्यस्तै मेक्सिकन टोली क्रुज अजुलविरुद्धको खेल हेर्न लगभग ७०० माइल यात्रा गर्दै फ्यानहरु आउन लागेको बताइएको छ । गत वर्ष इन्टर मियामी र बार्सिलोनाबीचको लिग कप खेलको टिकटको मूल्य अहिलेको लगभग आधा रहेको थियो ।

इन्टर मियामीले मेसीको डेभ्यु खेलमा कम्तिमा पनि एक लाख १० हजार डलरको टिकट बिक्रि गर्ने भएको छ ।

३६ वर्षीय मेसी अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडीमध्ये एक हुन्, जसले सात पटक प्रतिष्ठित बालोन डी’ओर अवार्ड जितेका छन् र गत वर्ष विश्वकप विजेता अर्जेन्टिनी टोलीका कप्तान थिए ।

मेसीलाई इन्टर मियामीले बार्षिक ५० देखि ६० मिलियनसम्म पारिश्रमिक दिने सम्झौता गरेको बताइएको छ, जसका लागि एडिडास र एप्पल जस्ता एमएलएसका प्रायोजकले सहयोग गरेका छन् ।

मेसीको इन्टर मियामी आगमन पछि मियामी शहरको पर्यटन समेत बढ्न थालेको बताइएको छ । इन्टर मियामीले आइतबार मेसीलाई प्रस्तुत गरिरहदा मैदान बाहिर रहको हार्ड रक क्याफेले गत हप्तादेखि नै (मेसि चिकन स्यान्डविच) बनाएर बेचिरहेको थियो । अहिले सो स्यान्डविच रेष्टुरेन्टहरूमा व्यापक बिक्री भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*