नक्कली बाबुछोराको नागरिकता रद्द
जिल्ला प्रशासन कार्यालयलाई झुक्याउँदै नक्कली बाबुछोरा बनेर लिएको नागरिकता रद्द भएको छ। मंगलबार अन्नपुर्ण पोष्ट दैनिकमा ‘नक्कली बाबुछोरा बनेर नागरिकता’शीर्षक समाचार प्रकाशन भएपछि नागरिकता रद्द गरिएको हो। नलगाड–२ का चंखे पुनलाई नक्कली बाबु बनाई कमल पुनको नाममा नागरिकता बनाइएको थियो।
नागरिकता ऐन र नियमावलीको दफा १२ बमोजिम झुटो विवरण पेश गरी कमलले लिएको नागरिकता रद्ध गरी कारवाहीका लागि प्रहरीलाई निर्देशन दिइएको छ। प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार नक्कली बाबुछोरा बनेर नागरिकता लिनेदिने दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस बिषयमा अनुसन्धान भइरहेको प्रजिअ बस्नेतले बताए। प्रहरीले संलग्नलाई किर्ते, नक्कली जालसाँझीमा समेत मुद्धा चलाउने तयारी गरेको छ।