पाल्पाका ८९ मध्ये ३४ स्वास्थ्यसंस्थाले प्रयाेग गर्ने पानीमा भेटियाे दिसामा पाइने ‘कोलीफर्म’

जनपत्र
३१ असार २०८०, आईतवार १०:५६

पाल्पा – पाल्पाका ८९ स्वास्थ्य संस्थामध्ये ३४ वटाले दूषित पानी प्रयाेग गरिरहेकाे भेटिएकाे छ । ८९ स्वास्थ्य संस्थामा बिरामी तथा कुरुवाहरुले प्रयोग गर्ने पानीको परीक्षण गर्दा ३४ वटाको पानीमा दिसामा पाइने कोलीफर्म भेटिएकाे हाे ।

कोलीफर्म तातो रगत भएका जीवजन्तु तथा मानिसको दिसामा पाइने एक प्रकारको जीवाणु हो ।  जिल्लाका दुई वटा नगरपालिकासहित आठ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा पानीको शुद्धता परीक्षण गरिएकाे स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

रिब्दीकोट, माथागढी  र बगनासकाली गाउँपालिकाका ६/६ वटा गरी १८ वटा स्वास्थ्य संस्थाकाे पानीमा काेलीफर्म भेटिएकाे छ । त्यस्तै, रैनादेवी छहरा र तिनाउँ गाउँपालिकाका तीन/तीन वटा, रम्भा गाउँपालिकाका दुई वटा तथा निस्दी गाउँपालिकाका तीन वटा स्वास्थ्य संस्थाकाे पानी दूषित भेटिएकाे छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकामा तीन वटा र तानसेन नगरपालिकाकाे एउटा स्वास्थ्य संस्थाको पानीमा कोलीफर्म जीवाणु फेला परेको छ ।

स्वास्थ्य कार्यालयले पानीको गुणस्तर सुधार तथा सचेतना अभिवृद्धि गर्न र महामारीबाट बच्न पानीको जाँच गरिएको जनाएको छ । जाँच गरिएकामध्ये ४० प्रतिशत स्वास्थ्य कार्यालयकाे पानी दूषित रहेको पाइएको कार्यालय प्रमुख डा. गिरीले जानकारी दिनुभयो । दूषित भेटिएको पानीको गुणस्तर सुधार गर्न पालिकाको स्वास्थ्य शाखालाई सुझाव दिइएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*