हेटौँडामा एकिकरण सिद्धान्तमा आधारित तालिम सम्पन्न

जनपत्र
२८ श्रावण २०७६, मंगलवार ०६:२९

मकवानपुर । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ—नेपाल, हेटौँडा शाखाको आयोजनामा ‘एकिकरण सिद्धान्तमा आधारित ३ दिने युवा नेतृत्व तालिम ’ सोमबार सम्पन्न भएको छ । शनिबारदेखि हेटौँडामा सुरु भएको तालिमको आज समापन गरिएको हो । सेमिनारमा यूवाहरुलाई तीन दिन सम्म एकीकृत सिद्धान्त र जीवनशैलीका बारेमा प्रशिक्षण दिईएको संघका हेटौंडा संयोजक सुवास लामाले जानकारी दिनुभयो ।

तालिममा नैतिकता, पवित्रता र मानव जिम्मेवारी जस्ता विषयवस्तुमा आधारित भएर प्रशिक्षण दिईएको थियो । प्रशिक्षणमा संघका हेटौँडा संयोजक सुवास लामा, युवा अभियान्ता एक्काबहादुर घिसिङ, राजु घलान, चन्द्रबहादुर बिक, हरिबहादुर लोप्चनले प्रशिक्षण दिएका थिए । त्यस्तै समापनको दिनमा युवा शान्ति दुत तथा मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले पनि उत्प्रेरणात्मक प्रशिक्षण दिएका थिए । तालिममा ४० जना युवायुवतीहरुले सहभागिता जनाएका थिए ।

युवा शान्ति दुत अर्पण पराजुली, रामप्रसाद शाह, संघका पर्सा जिल्ला संयोजक हरिबहादुर लोप्चन लगायतको आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी युवाहरुले आफुहरु तालिमबाट निकै सकरात्मक भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफुहरुमा आत्माविश्वास बढ्नुका साथै विश्व शान्तिको अभियानमा लाग्न उत्प्रेरणा मिलेको बताएका छन् । समापनसँगै सहभागीहरुको विभिन्न समूह समेत निर्माण गरिएको छ । जसले शान्तिका लागि अभियान सञ्चालन गर्ने संयोजक लामाले जानकारी दिनुभयो ।

चरित्रवान् व्यक्ति नै असल परिवार, समाज, समुदाय, राष्ट्र र विश्वको खम्बा भएकाले व्यक्तिगत चरित्रको विकास विना उच्च स्तरीय सभ्यता र दीगो एवं सार्थक विकास असम्भव भएको निश्कर्ष निकाल्दै यसका लागि व्यक्तिगत तहदेखि नै तयारी गर्ने अभिप्रायले कार्यक्रम गरिएको जानकारी दिइएको छ । उचित ज्ञान र शिक्षाको अभावमा अपराध र विकृति बढ्ने कुरातिर जोड दिँदै कार्यक्रम संयोजक लामाले त्यस्ता कुराहरुलाई रोक्नु मात्र नभई युगलाई अगाडि हाँक्ने जनशक्ति पनि आजको टड्कारो आवश्यकता भएको बताउनुभयो । त्यसको जिम्मेवारी बोध गरेर यो तालिम संचालन गरिएको लामाले बताउनुभयो ।

यस अभियानले युुवाहरुमा देखिएको भौतिक विलासिता र धार्मिकतालाई लत्याएको अवस्थामा युुवा अन्तस्करणमा पुग्न गएका असरलाई मध्यनजर गर्दै नैतिक एवं वैचारिक विचलनमा सुधार ल्याउने उद्देश्यले चेतनामूलक, शिक्षामूलक एवम् सेवामूलक विविध कार्यक्रमहरु अन्तर्गत सेमिनार तथा गोष्ठीहरु देशव्यापीरुपमा संचालन गर्दै आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*