मेयर बालेन्द्र शाहविरुद्ध महानगर अगाडि विरोध प्रदर्शन

जनपत्र
२७ असार २०८०, बुधबार १३:१८

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले विरोध प्रदर्शन गरेको छ ।

‘इनफ इज इनफ’ ले काठमाण्डौ महानगर अगाडि मेयर बालेन शाहविरुद्ध ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो । ‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापन गर्नुपर्ने माग राखेको छ ।

महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताउनु भयो । उहाँले जीविकोपार्जन गर्न व्यापार गर्नेहरुमाथि महानगरले दुर्व्यवहार गर्ने गरेको बताउनु भयो । उहाँले महानगरले संविधानले दिएको बाँच्न पाउने र मानव अधिकारको कुरालाईसमेत हनन गरेको आरोप लगाउनु भयो ।

उहाँले मेयर तथा महानगरविरुद्ध यो विषयमा संगठित भएर बोल्न नसकेको बताउनु भयो । उहाँले महानगरपालिकाले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई महानगरले लुटेको बताउनु भयो ।

उहाँले गरिबीको चमेली बोलिदिने कोही छैन भन्ने मेयर आफ्नै गीतले उहाँलाई नै गिज्याएकाले गरिबको पक्षमा बोल्न आएको बताउनु भयो ।

त्यस्तै, अर्को प्रदर्शनमा सहभागी सौरभ न्यौपानेले फुटपाथ व्यवस्थापनका बारे मेयर शाहले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको बताउनु भयो ।

उहाँले मेयर बालेन्द्रले निर्वाचनको बेला बोलेको कुरा बिर्सिएकाले विरोध प्रदर्शन भन्दा पनि सम्झाउन युवाहरु भेला भएको बताउनु भयो ।

त्यस्तै, विरोध प्रदर्शनमा सहभागी युजनराज भण्डारीले साना ठेलागाडा व्यापारीमाथि महानगरले गरेको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको बताउनु भयो ।

उहाँले फुटपाथका ठेलागाडा व्यवसायलाई व्यवस्थित गर्न सकिन्छ भनेर मेयर शाहले निर्वाचनको बेला भन्ने गरे पनि अहिले अमानवीय व्यवहार गर्ने काम गर्नुभएको आरोप लगाउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*