भलिबल सङ्घले दर्शकमाथि भएको हातपातको घटनाकाे छानबिन गर्ने, ५ सदस्यीय समिति गठन

जनपत्र
२६ असार २०८०, मंगलवार ०९:५०

काठमाण्डाै – सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल लिग प्रतियोगितामा हिजो त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच भएको खेलमा दर्शकमाथि भएको हातपातको घटनाकाे छानबिन हुने भएको छ ।

नेपाल भलिबल सङ्घले खेलका क्रममा भएको हातपातको घटनाकाे छानबिन गर्ने निर्णय गरेको छ । सङ्घको कार्यसम्पादन समितिको हिजो बेलुका बसेको आपत्कालीन बैठकले सङ्घका महासचिव तथा प्रतियोगिता संयोजक रोशन श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिलाई छानबिन गरेर यही असार ३० गतेभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ । समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन रहेका छन् । खेलमा आजदेखि थप सुरक्षा व्यवस्था बढाइने भएको छ ।

गण्डकी प्रदेशका एक समर्थकले आर्मीका खेलाडीको नाम नै तोकेर कारबाहीको माग राख्दै सङ्घमा निवेदन समेत दर्ता गराएका महासचिव श्रेष्ठले जानकारी दिएका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हिजो भएको तनावपूर्ण खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० ले हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*