थानामा जुवाडे नअटाएपछि…

जनपत्र
२८ श्रावण २०७६, मंगलवार ०५:२१

पोखरा– कास्की प्रहरीले दुई दिन गरेको अप्रेसनमा ४० जना जुवाडे पक्राउ परेपछि हिरासत कक्ष भरिएको छ। पोखराका विभिन्न ५ ठाउँमा साउन २५ र २६ गते जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको टोलीले मारेको छापामा ठूलो परिणामको नगदसहित उनीहरु पक्राउ परेका हुन्।

एकैपटकमा ठूलो संख्यामा पक्राउ परेका जुवाडेलाई राख्न थुनुवा कक्षको क्षमताले थेग्न नसकेको जिप्रका कास्कीका मुद्दा शाखाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेश सुवेदीले जानकारी दिए।

हिरासत कक्षको क्षमताभन्दा बढी व्यक्ति पहिले नै थुनामा छन्। अधिकतम ५० जनालाई हिरासतमा राख्न मिल्ने क्षमता जिल्ला प्रहरी कार्यालयमा छ। तर कास्की प्रहरीको हिरासतमा ८७ मुद्दाका १ सय ५४ जना आरोपीलाई अटाइनअटाई थुनिएको छ।

जुवातास सम्बन्धी गतिविधिमा पक्राउ परेकालाई सार्वजनिक मुद्दा चलाइने भएकाले पनि प्रहरीले २५ दिनसम्म हिरासतमै राखिने इन्स्पेक्टर सुवेदीले बताए। सार्वजनिक मुद्दामा म्याद थप गर्दै प्रहरीले हिरासतमा महिनादिनसम्म राख्नुपर्दा समस्या देखिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*