पाेखरामा लाइसेन्सकाे अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा सञ्चालनमा

जनपत्र
२१ असार २०८०, बिहीबार ०९:५२

कास्की – सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा पाेखराबाट शुभारम्भ भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रमका बीच भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जालीले हिजाे संयुक्तरूपमा सेवाकाे शुभारम्भ गर्नुभएको हो ।

परीक्षणका रूपमा गण्डकी प्रदेशको पोखराबाट सुरु भएको यस किसिमको अनलाइन राजस्व भुक्तानी सेवा एक महिनाभित्र देशका सातवटै प्रदेश राजधानीबाट सुरु हुनेछ ।

मन्त्री ज्वालाले प्रविधिको सदुपयोग गर्दै सरकारी सेवा प्रवाहका क्रममा देखिने गरेको भीड तथा लाइन र बिचौलियामुक्त बनाइ सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ अनलाइन सेवा प्रणाली सुरु गरिएको बताउनु भयाे ।

अबदेखि सवारी चालक अनुमतिपत्र लिने, वर्ग थप्ने र नवीकरण गर्नेक्रममा आम नागरिकले झेल्दै आएको सास्ती बेहोर्न नपर्ने बताउँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुरूपको ऐन, कानुन तर्जुमा गरी जनमुखी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, पोखराबाट जुममार्फत् मन्त्री जुग्जालीले परिवर्तित सन्दर्भमा आवश्यक ऐन, कानुनको अभावमा प्रदेश सरकारले चाहे जति काम गर्न नसकेको बताउनु भयाे । उहाँले अत्यावश्यक कानुन तथा नीति निर्माणका पक्षमा समन्वयसहित सहजीकरणका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गर्नुभयो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले अहिले दैनिक छ/सात हजार सेवाग्राहीले सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने गरेकोमा त्यसअनुसारको सेवा दिने क्षमता नभएको अवस्थामा विद्युतीय सेवा प्रणाली सञ्चालन गरी सेवाग्राहीलाई राहत दिन लागेको दाबी गर्नुभयाे ।

याे सेवा सञ्चानल भएपछि चिकित्सकीय सेवासहित बायोमेट्रिक परीक्षण, लिखित र प्रयोगात्मक परीक्षामा सहभागी हुनबाहेक राजस्व भुक्तानीलगायत सबै काम अनलाइनबाट गर्न सकिने विभागले जनाएकाे छ ।  विभागका अनुसार अहिलेसम्म नेपालमा ३३ लाख ६० हजार जनाले चालक अनुमतिपत्र लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*