बागमती प्रदेशसभा बैठक विपक्षी दलको निरन्तर अवरोध, बजेट माथीको छलफलमा किन लचिलो भएन प्रदेश सरकार ?

जनपत्र
१८ असार २०८०, सोमबार ०६:४०

हेटौंडा । बागमती प्रदेशसभा बैठक विपक्षी दलको निरन्तर अवरोध भइरहेको छ । असार १ गते ल्याइएको बजेट माथी संसदमा छलफल समेत हुन सकेको छैन । निरन्तर संसद अबरुद्ध हुँदा समेत प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु टसकोमस हुन सकेका छेनन् । बार्ता र छलफलबाट निकास निकालेर संसद चलाउने तर्फ प्रदेश सरकारको ध्यान कम मात्रै गएको देखिन्छ ।

बिगतमा पनि प्रतिपक्षी दलहरुले बजेटमाथी असन्तुष्टि जनाएपछी एकमुष्ट राखिएको बजेटलाई टुक्रा पारेर अर्को सानो बजेट किताब निकालेर मात्र बजेट पारित गर्न दिइएको थियो । अहिले पनि प्रदेशसभाको बैठक निरन्तर रुपमा अबरुद्ध रहेको छ । बजेटमा संतुलन नभएको भन्दै नेकपा एमाले, राप्रपा लगायतका दलहरुले बैठक चल्न दिएका छैनन् ।

निरन्तर रुपमा सदन अबरुद्ध हुँदा पनि प्रदेश सरकार लचिलो नहुँदा बजेट पारित हुनमा थप समस्या भएको छ । बजेट संशोधन नगरेसम्म बैठक चल्न नदिने नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो ।

निरन्तर रुपमा अबरुद्ध भएको प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक विपक्षी दलको अवरोधका कारण बस्न सकेन । यसअघि गएको बिहीबार पनि विपक्षी दलहरूको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

विपक्षीको निरन्तर अवरोधका कारण आइतबार पनि आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथि छलफल अघि बढ्न सकेको छैन । प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले अवरोध गरेपछि आइतबारको बैठक पनि सञ्चालन हुन नसकेको हो ।

२ बजेका लागि बोलाइएको आइतबारको बैठक २ घण्टा ढिलो गरी ४ बजे सुरु भएको थियो । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरेका थिए । उनीहरूले प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी र जनविरोधी भएको भन्दै नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो ।

प्रतिपक्षी दल एमाले र राप्रपाले बजेट सत्तापक्षका सांसद र मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री र भौतिक पूर्वाधार मन्त्रीको निर्वाचन क्षेत्रमा बढी केन्द्रित गरेको आरोप लगाउँदै पुनः लेखन गर्नुपर्ने माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*