हेटौंडामा बस दुर्घटना, ५२ जना घाइते

जनपत्र
१५ असार २०८०, शुक्रबार १६:२२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नवलपुरमा आज अपराह्न यात्रुवहाक बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तरगत पर्ने नबलपुरमा बस अनियन्त्रित भइ दुर्घटना हुँदा ५२ जना घाइते भएका हुन् ।

चितवनको नारायगढबाट जनकपुरतर्फ जान आइरहेको ना ६ ख ९८०४ नम्वरको यात्रुवहाक बस अनियन्त्रित भई दुर्घटना हुँदा ५२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । प्रहरी निरीक्षक घिमिरेका अनुसार, घाइतेमध्ये एक जनाको अवस्थामा गम्भीर रहेको र उनलाई चुरेहिल अस्पतालमा सामान्य उपचारपश्चात चितवनको भरतपुर अस्पतालमा रिफर गरिएको छ ।

‘बस आफैं अनियन्त्रित भएर सडबाट तल खसेको हो। सोही स्थानमा सडक निर्माणको काम भैरहेकोले चालक झुक्किएको हुनसक्ने अनुमान गरेका छौं’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतमले भने, ‘घाइतेमध्ये केहीको अवस्था गम्भीर छ भने बाँकीको सामान्य रहेको छ।’ दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको जानकारी दिँदै उनले चालक सम्पर्कमा नभएको बताए।

यस्तै, सोही दुर्घटनामा परेर घाइते भएका २१ जनाको हेटौंडास्थित चुरेहिल अस्पताल र ३० जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको हाल पहिचान खुल्न बाँकी रहेको उनले बताए । बस चालक भने अहिलेसम्म प्रहरीको सम्पर्कमा नरहेको र उनको खोजतलास कार्य जारी रहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*