मकवानपुरमा हैसियत बिग्रेको वनलाई यसरी गरिदै छ पुनरुत्थान

जनपत्र
१२ असार २०८०, मंगलवार ०६:३५

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–४ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समुहमा पहिले हैसियत बिग्रेको सामुदायिक वनलाई सबै मिलेर अब सधैका लागि हरियाली र सुन्दर बनाउने योजनाका साथ यहाँका उपभोक्ताहरु खटिएका छन् । सामुदायिक वनका अध्यक्ष सकेलाल लोको नेतृत्वमा बिग्रेको वन क्षेत्रलाई अहिले सुधार गर्ने प्रयास गरिएको हो ।

यस वन क्षेत्रमा झाडीको फडानी गर्ने काम गरिएको छ । वरपर रहेका लहरा काटिएको छ । त्यस वन क्षेत्रमा रहेका थाकलका बुट्यानहरु उखलेर फालिएको छ । हरेक दिनजसो सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरु यस काममा निरन्तर रुपमा खटिएका छन् । सफा र सुन्दर बनाइएपछी बाँसको घेराबारा गरेर बिभीन्न जातका विरुवा रोपिएको सामुदायिक वनका अध्यक्ष सकेलाल लो बताउनुहुन्छ ।

बाँसको घेराबारा भित्र बाँस, सजिवन लगायतका ३ हजार ६ सय बिरुवा रोपिएको बताउँदे उहाँ भन्नुहुन्छ–‘हामी वनका उपभोक्ता मिलेर दिनहुँ काम पनि गरयौ र केही मेहनतको पैसा पनि उपभोक्ताहरुले श्रम गरेवापत पाए यो रोपिएका विरुवा अब हामी जोगाउँछौ र वनलाई हराभरा बनाउँछौं ।’

यहाँको हैसियत बिग्रेको सामुदायिक वनलाई अहिलेको अवस्थामा ल्याउनका लागि डिभिजन वन कार्यालय मकवानपुरले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । भिजिन वनले बिभीन्न वनलाई पुनरुत्थान गर्ने कार्यक्रम अन्तरगत यहाँको काममा पनि सहयोग गरेको हो ।

यसैगरी मकवानपुरको पूवी गाउँपालिका वकैया–७ मा रहेको हात्तिचरण सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा पनि हैसियत बिग्रेको सामुदायिक वनलाइ सबै मिलेर पुनरुत्थान गरिएको छ । यस वन क्षेत्रको सबै झाडी फडानी गरिएको छ । ट्याक्टर लगाएर फाडीएको झाडीमा जोतिएको छ । करि ३ हेक्टर क्षेत्रफलको यस क्षेत्रमा पहिलेको तुलनामा निकै फरक देखिने बनाइएको वनका अध्यक्ष पोस बहादुर घिमिरे बताउनुहुन्छ ।

यस क्षेत्रको खाली रहेको जमिनमा चाँप, टाँकी, काभ्रो, सजिवन, अमला लगायतका ३ हजार वटा विरुवा रोपिएको उहाँ बताउनुहुन्छ । नर्सरी लगायतका स्थानबाट विरुवा ल्याएर उपभोक्ताहरुकै सक्रियतामा रोपिएको हो । यस कामका लागि डिभिजन वन कार्यालय मकवानपुरले ६ लाख रुपैयाँ सहयोग गरेको र अहिले काम पनि सकिएको अध्यक्ष घिमिरे बताउनुहुन्छ । यस क्षेत्रमा बाँसले पुरै घेराबारा लगाएर विरुवा समेत रोपिएको हो । स्थानीय उपभोक्ताहरुको सक्रियतामा सबै काम सकेर अब यो क्षेत्रलाई थप संरक्षण गर्दै नमुना वन वनाउन लागिएको उहाँले बताउनुभयो ।

यो दुइ वटा सामुदायिक वन त उदाहरण मात्र हुन् । मकवानपुरमा हैसियत बिग्रेको सामुदायिक वन मध्य ११ वटा सामुदायिक वनलाई पुनरुत्थान गरिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख शिब सापकोटाले बताउनुभयो । यस कामका लागि डिभिजन वन कार्यालय मकवानपुरले ५३ लाख ७० हजार रुपैयाँ ११ वटा सामुदायिक वन समुहलाई बिभीन्न कामका लागि सहयोग गरेको छ ।

चालु आर्थिक वर्षमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–६ मा रहेको सल्लेडाँडा सामुदायिक वन उपभोक्ता समुह, सोही वडामा रहेको नमोबुद्ध सामुदायिक वन उपभोक्ता समुह, भैरब सामुदायिक वन उपभोक्ता समुह, वडा नम्बर–७ मा रहेको शक्तिाशाली सामुदायिक वन उपभोक्ता समुह, बागमतीकै वडा नम्बर–१ मा रहेको त्रिबेणि सामुदायिक वन उपभोक्ता समुह, वडा नम्बर–२ मा रहेको बेलघारी सामुदायिक वन उपभोक्ता समुह, बकैया गाउँपालिका वडा नम्बर–२ मा रहेको कल्याण सामुदायिक वन उपभोक्ता समुह, बकैयाँ–७ मा रहेको प्रतिभा सामुदायिक वन उपभोक्ता समुह र बकैयाँ–८ मा रहेको कालेश्वर सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा हैसियत बिग्रेको वन क्षेत्रलाई पुनरुत्थान गरिएको डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतमले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयले लगानी गरेको वनमा सबै सरसफाइ गरेर घेराबारा समेत गरेर चरिचरण नियन्त्रण गर्दै बृक्षा रोपण गरेर भविस्यमा आमदानी लिन सक्ने वातावरण तयार गर्न लागिएको गोतम बताउनुहुन्छ । हैसियत बिग्रेको वन क्षेत्रको संरक्षणका लागि वन हेरालु राख्ने र भइरहेका अतिक्रमणहरुलाई रोक्नका लागि मधत पनि पुग्ने उहाँ बताउनुहुन्छ । यो सबै काम गर्दा स्थानीय श्रोत साधनको भरपुर उपयोग गरेर काम काम गरिएको बताउँदे उहाँ भन्नुहुन्छ–‘स्थानीय वन समितिका उपभोक्तालाई यो कार्यक्रम लैजाँदा अस्थायी प्रकृतिको रोजगारी पनि भयो र आफ्नै वन पनि व्यवस्थापन भएको छ ।’

मकवानपुरका बिभीन्न वन समूहमा आबद्ध गरिब किसानले हैसियत बिग्रेका वन व्यवस्थापन गरी पछी राम्रो आम्दानी गर्न समेत सक्ने भएका छन् । यहाँको हैसियत बिग्रेको वन व्यवस्थापन गरेर नयाँ बिरुवा हुर्केपछी भने गरिब किसानको आयआर्जनमा सहयोग पुग्ने लक्ष राखिएको छ । यो वनमा विभिन्न जातका रुख, फलफूल, जमिन मलिलो गराउने विभिन्न जातका बोटबिरुवा, घाँस, डालेघाँस लगाउने कार्य भएको छ ।

घाँसले पशुपालन गर्नेतिर किसानलाई उन्मुख गराएको छ । यहाँ अम्रिसाका बिरुवा, कुचो, घाँससमेतमा पछ िआमदानी गर्न सहज भएको छ । यो वनको पुनरुत्थान गरेपछी वन सबैका लागि वरदान साबित हुने भएको छ । यसले कर्मशील भएर काम गर्न सिकाउने छ । गाउँमै बसेर आम्दानी गर्न किसानहरुका लागि थप सहयोग पुग्ने उपभोक्ताहरु बताउँछन् । उनीहरूलाई अझ प्रोत्साहन गरी लगनशील बनाउन यो कामले सहयोग गरेको पनि छ । हैसियत बिग्रेको वनलाई पुनरुत्थान गर्दा जलवायु परिवर्तनका असरहरुलाई पनि न्यूनीकरण गर्नमा सहयोग पुग्ने छ । स्थानीयहरुकै सक्रियतामा वन पनि हराभरा हुने र जलवायु परिवर्तनबाट हुने असरलाई न्यूनीकरणमा पनि सहयोग पुग्ने छ ।

समुदायमा आधारित वन व्यवस्थापनको अभ्यास वन स्रोतको संरक्षण तथा व्यवस्थापनका लागि एक सफल प्रणाली सावित भएको छ । यसलाई वन विनाश कम गर्ने, वनको हैसियत सुधार गर्ने, तथा गरिबी घटाउने एक माध्यमका रूपमा लिन थालिएको छ । यसलाई सामुदायीक संरक्षणको मोडेलको रूपमा पनि लिइन्छ । वन समूहहरूले व्यवस्थापन गर्दै आएका वन क्षेत्रसँग हजारौं स्थानीय विपन्नहरूको जीविकोपार्जन उकास्न सक्ने सम्भावना रहेको छ । विभिन्न अध्ययनरूहरूले ग्रामीण क्षेत्रका सम्पन्न मानिसहरूभन्दा विपन्न तथा सीमान्तकृत मानिसहरू सामुदायिक वनमा उपलब्ध स्रोतहरूमा बढी आश्रित छन् भन्ने देखाएको छ ।

वन समूहमा आबद्ध घरधुरीहरूको जीविकोपार्जनको सम्पूर्ण आधारहरू उक्त वन स्रोतमा आधारित भए तापनि निर्णय गर्ने प्रक्रियामा समूहका सबैको समान भूमिका तथा वनबाट प्राप्त लाभ समान रूपमा पाउन सकेका छैनन्। नेपालमा वन क्षेत्रको व्यवस्थापनमा वन विकास गुरुयोजना र त्यसपछि लागू भएको वन ऐन, २०४९ र नियमावली, २०५१ ले वन उपभोक्ताहरूलाई सामुदायिक वन उपभोक्ता समूह गठन गर्न पाउने कानूनी अधिकारको पूर्णप्रत्याभूति गर्ने काम गर्यो ।

जसले गर्दा स्थानीय स्तरमा आफूलाई पायक पर्ने वन क्षेत्रका उपभोक्ताहरूले उपभोक्ता समिति गठन गरी वनको संरक्षण संवर्धन गर्नका लागि जिल्ला वन कार्यालयबाट आफ्नो समूहलाई हस्तान्तरण गर्न लगाउने प्रक्रियाको एक अभियानको रूपमा अगाडि बढ्यो। उक्त अभ्यासले तीव्र रूपमा बढ्दै गएको वन फडानी रोकियो। सामुदायिक वन हाम्रा लागि हो भन्ने सामूहिक भावनाको विकास जागृत हुँदै गयो।

साथै स्थानीय समुदायहरू त्यसतर्फ अग्रसर समेत हँुदै गए । यसको माध्यमबाट वातावरण एवम् जैविक विविधताको संरक्षणका साथै वन पैदावार उत्पादन गर्ने क्षमताको समेत उल्लेखनीय वृद्धि भयो। त्यसैगरी नेपाल सरकारले सामुदायिक वनको मार्गदर्शन, २००९ मा विपन्न वर्गको पहिचान, उपसमूह गठन र यसको विधि सम्बन्धी स्पष्टरूपमा उल्लेख गर्यो । उक्त व्यवस्थाले सावउसहरूमा उपसमूहहरूको गठन गरी सावउसका हैसियत बिग्रेका क्षेत्रहरूको व्यवस्थापन र उपयोगका निम्ति प्रदान गर्नका लागि कानूनी आधार समेत प्रदान गरेको छ । सामुदायिक वन पद्धतिलाई विश्व समुदायले पनि एउटा सफल मोडलका रूपमा अपनाउँदै गएको पाइन्छ ।

तथापि वनमा आश्रित अति गरिब र सीमान्तकृत समुदायको निर्णय प्रक्रिया तथा लाभांश वितरण प्रणालीमा पहुँच भने अझै पनि कम देखिन्छ । यस सन्दर्भमा सामुदायिक वनभित्र उपसमूहको गठन गर्ने अभ्यासलाई एउटा नवीनतम मोडलको रूपमा लिन सकिन्छ । यसको लक्ष्य भनेको जैविक विविधताको संरक्षण र गरिबी न्यूनीकरणमा सहयोग गर्नु हो। यस मोडलको अवधारणा अनुसार गरिबहरू सङ्गठित भई निश्चित समयका लागि सावउसको उजाड क्षेत्र वा हैसियत बिग्रिएका क्षेत्रहरूलाई कबुलियतीनामा गरी आयआर्जनका क्रियाकलापहरू गरी आयआर्जन बढाउने काम गर्दछन्। तसर्थ यस अध्ययनले सावउसहरूभित्र उपसमूह मोडलको विधि, प्रक्रिया तथा यस मोडलले वनको सुशासन र जीविकोपार्जनमा पारेको प्रभावहरू पारेका उदाहरण धेरै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*