भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड

जनपत्र
१० असार २०८०, आईतवार १३:५०

चितवन। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ७५ करोड (घरजग्गा रजिष्ट्रेशन एवम् खानी तथा खनिजजन्य पदार्थको बाँडफाँडबाट प्राप्त), अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रेदश सरकारको राजश्व बाडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरिएको छ।

अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्व १० करोड रहने प्रक्षेपण गरिएको छ। महानगरले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरुको समयमै सम्पन्न गर्नका लागि १ अर्व ६५ करोड बजेट विनियोजन गरेको छ।

भरतपुर महनगरका २९ वटा वडाका लागि प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रकम विनियोजनका लागि प्रस्ताव गरिएको छ।

‘मध्य नेपालको सुन्दर शहर : समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि उत्पादन, खानेपानी, दिगो पूर्वाधार विकास निर्माण तथा प्रभावकारी सेवा प्रवाहमार्फत् सुशासन कायम गरी महानगरवासीलाई परिवर्तनको प्रत्यक्ष लाभ पुर्याउन कटिबद्ध रहेको महानगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*