मकवानपुरगढी गाउँपालिकालाई एमालेको २० बुँदे सुझाव

जनपत्र
९ असार २०८०, शनिबार १९:२२

हेटौंडा– मकवानपुरगढी गाउँपालिका कार्यालयलाई नेकपा एमाले गढी गाउँ कमिटीले २० बुँदे सुझाव दिएको छ । गाउँपालिका कार्यालयमा शुक्रबार गाउँपालिकाको निवर्तमान अध्यक्ष तथा पार्टी इञ्चार्ज बिदुर हुमागाई, एमाले गाउँ कमिटी अध्यक्ष रामजी सापकोटालगायतका नेताहरुले पालिका अध्यक्ष दोर्जे स्याङ्तानलाई जनताको सरकार भएको अनुभूति दिलाउने गरी काम गर्न अनुरोधसहित विकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा सुझाव दिएको हो । एमालेले २०७९ वैशाखमा भएको स्थानीय निर्वाचन पश्चात आएका जनप्रतिनिधिले जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी कुनै काम गर्न नसकेकोतर्फ सचेत पनि गराएको छ । गाउँबासीको आवश्यकता र चाहना विपरित गाउँ सरकार योजनाविहीन ढंगबाट अगाडि बढेको एमालेको आरोप छ ।

स्थानीय तह जनतासँग प्रत्यक्ष सम्बन्ध रहने निकाय भएकाले जनताले हेर्दा यसका सबै गतिविधि देखिने, स्पर्श गर्दा छाम्न सकिने, सेवा प्रवाह र गरेका विकासको अनुभूति गर्न सकिने भएको भन्दै वर्तमान सरकार यसतर्फ गम्भीर नभएको एमालेको जिकिर छ । २०७४ मा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनपछि आएका जनप्रतिनिधले ल्याएको दुरगामी महत्वको योजनाहरु कटौती गरेकोप्रति आपत्ति जनाइएको छ । २०७९ पछि आएका जनप्रतिनिधिबाट मकवानपुरगढीका जनताले सबै खाले विकास र सेवा प्रवाहमा सहज अनुभूति गर्न नपाएको एमाले गाउँ कमिटी अध्यक्ष रामजी सापकोटाले दाबी गरेका छन् ।

वर्तमान जनप्रतिनिधिले स्थानीय तहको सरकारको जिम्मेवारी नै महसुश नगरी अलमलिएको गन्तव्य हिन यात्रीको शैलीमा प्रस्तुत भएको सापकोटाले आरोप लगाए । मकवानपुरगढीमा अघिल्लो कार्यकालमा अगाडी बढाइएको विकासका अभियानलाई निरन्तरता नदिनु, सबै दक्ष कर्मचारीहरुलाई हटाई विषयगत ईकाईबाट हुने महत्वपुर्ण सेवा अवरुद्ध गर्नु, मनोमानिका आधारमा कर्मचारी नियुक्ति गर्नु, महत्वपूर्ण योजना कार्यान्वयन नगरी बजेट फ्रिज गर्नु, पालिकाबाट प्रवाह हुने सेवा रगतमा राजनैतिक प्रतिशोध र आस्थाका आधारमा निर्णय लिनुः एकलौटी उपभोक्ता समितिको गठन, राजस्वको छली र चुहावट हुनु जस्ता विषयका कारण एमालेको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष स्याङ्तानलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।

एमाले मकवानपुरगढी गाउँ कमिटीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा विगतका अधुरा महत्वपूर्ण योजनालाई पूर्णता दिने गरी आवश्यकताका आधारमा योजना समावेश गर्न सुझाव दिएको छ । योजना तथा बजेट कार्यान्वयन गर्दा उपभोक्ता समिति गठनमा आफ्ना नजिकका व्यक्ति मात्र बोलाई गर्ने गरिएको भन्दै यस्ता कार्यको पूर्णत अन्त्य गर्नुपर्ने जनाइएको छ । योग्यता, दक्षता र आवश्यकताका आधारमा नियुक्ति भएका करार कर्मचारीहरु हटाई विषयगत क्षेत्रको सेवा प्रवाहमा आएको गतिरोधलाई परीणाममुखी बनाई सेवा सुचारु गर्नुपर्ने एमालेको सुझाव छ । कर्मचारी नियुक्ति गर्दा योग्यता दक्षता भन्दा पनि राम्रोलाई पन्छाएर हाम्रोलाई अगाडी सारेकोमा एमालेले आपत्ति जनाएको छ ।

गाँउपालिका क्षेत्रबाट उत्खनन हुने नदीजन्य पदार्थ उत्खनन् तथा माटो निकासीलाई पारदर्शी, व्यवस्थित, राजस्व चुहावट नहुने विधि र प्रक्रिया अवलम्बन गर्न, विभिन्न कम्पनिका नाममा आफैँ रसिद छपाई स्टक प्रमाणित नगरी गाउँपालिकाको करोडौं राजस्व चुहावट भएकोमा पार्टी अध्यक्ष सापकोटाले दाबी गरेका छन् । व्यवस्थित खानी उत्खनन नहुँदा माथिल्लो क्षेत्रको वातावरण, पर्यावरण, प्राकृतिक संम्पती र तल्लो तटीय क्षेत्रमा रहेका बस्ती र खेतीयोग्य भूमि पूर्ण रुपमा असुरक्षित बन्दै गइरहेकोतर्फ अध्यक्ष स्याङ्तानलाई एमालेले ध्यानाकर्षण गराएको छ ।

जोखीम न्यूनिकरण गर्न माथिल्लो क्षेत्रको संरक्षण र विकास तथा तल्लो तटीय क्षेत्रका स्थायी तटबन्धको विगतमा गरिएको सुरुवातलाई सम्बन्धित उद्योग, र माथिल्ला सरकारसँग समन्वय गरी वार्षिक रुपमा नियमित अगाडी बढाउनुपर्ने सुझाव दिइएको छ । दुग्ध उत्पादक किसानको लागि प्रति लिटर १ रुपैयाँ अनुदान दिने कार्यक्रम डुब्लीकेशन हुने नाममा कटौती गर्न खोजिएकोतर्फ एमालेले आपत्ति जनाएको छ । अनुदान बढाएर दिन पर्नेमा रोकिने कार्यप्रति घोर आपत्ति रहेको गाउँपालिकाका निवर्तमान अध्यक्ष हुमागाईले बताए ।

आगामी वर्ष दुधमा प्रति लिटर २ रुपैयाँ अनुदान दिने व्यवस्था गर्न र पशुधन संरक्षण, अनुदान, फलफुल, तरकारी, अनाजमा प्रति केजी अनुदान वृद्धि गरी मासुजन्य उत्पादन अनुदान कार्यकम, प्रति लिटर साझेदारी कृषक हितकोष कार्यक्रम कार्यन्वयन गर्न सुझाव दिइएको हुमागाईले जानकारी दिए । शिक्षा क्षेत्रमा सरुवा, अनुमती, नियुक्ति वा शिक्षा क्षेत्रमा भएका क्रियाकलाप राजनीतिक आस्थाका आधार गरिएको प्रष्ट देखिएको भन्दै शिक्षा क्षेत्रलाई राजनीतिकरण गर्न खोजिएको ज्ञापनमा उल्लेख छ ।
गाउँपालिकामा करिब निर्माण सम्पन्न भई सकेका तथा निर्माणको क्रममा रहेका १५ शैया अस्पताल, कोल्ड स्टोर, दाना उद्योग, पशु हस्पिटल, माटो परीक्षण प्रयोगशाला पूर्वाधारलाई पूर्णता दिई आवश्यक नीति बनाएर सञ्चालनमा ल्याउन एमालेले माग गरेको छ । ५ र ६ नम्बर वडा जोड्ने भालुखोलामा पुल, वडा नम्बर १ बुदुने खोला पुल, ताप्लाखर्कमा रहेको मगर समाज सामुदायिक भवनलगायतका अधुरा योजनाहरुलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्न माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*