निरोगी हुँदादेखि नै योग अभ्यास गरेको राम्रो

जनपत्र
६ असार २०८०, बुधबार १३:०६

विश्व स्वास्थ्य संगठनले अहिले शारीरिक, मानसिक, सामाजिक सबै पक्षलाई लिएर स्वास्थ्यको कुरा गर्छ । शारीरिकरुपमा मात्र सञ्चो भएर हुँदैन मानसिक, सामाजिक वैचारिक र आध्यात्मिकरुपले पनि मानिस स्वस्थ हुनुपर्छ भन्ने कुरा छ । त्यसका लागि योग गर्नुपर्छ । योगको महत्व यसकारण हो र यी सबै कारणका लागि योग गर्नुपर्छ ।

अहिले धेरै दीर्घ रोगहरु फैलिरहेको अवस्था छ, जस्तो कि मधुमेह, उच्च रक्तचाप आदि । जो हाम्रो जीवनशैलीसँग सम्बन्धित छ । यस्ता रोगहरुलाई रोक्न र भइसकेको अवस्थामा यस्ता रोगहरुको सही व्यवस्थापन गर्न पनि योगको आवश्यक्ता पर्छ ।

त्यसैगरी आफू खुसी हुन, आनन्दित हुन अनि जीवनको गुणस्तर बढाउनका लागि र आफ्नो चेतनालाई  परम अवस्थामा पुर्‍याउनका लागि पनि योगको आवश्यक्ता पर्छ ।

योग कस्ले गर्ने ?

योग कस्ले गर्नेभन्दा पनि सबैले गर्ने हो । स्वस्थ मान्छे स्वस्थ र आनन्दित भइरहन अनि रोगी मानिसहरुले रोगको व्यवस्थापन गर्न साथै खुसी तथा आनन्दित हुनका लागि पनि योग गर्ने गरिन्छ ।

योगमा धेरै अभ्यासहरु हुन्छन् । सामान्यतया आसन, प्राणायाम, मुद्रा, बन्ध, षटकर्म, ध्यान, योगनिद्रा जस्ता धेरै अभ्यास योगमा हुने गर्छ । यस्ता धेरै अभ्यासहरु हामीले बिहान खालीपेटमा गर्ने गर्छौँ । तर, केही अभ्यास भने ठोस खाना खाएको तीन घण्टापछि पनि गर्न सकिने हुन्छ । त्यो भनेको साँझमा पनि केही गर्न मिल्ने हुन्छ ।

धेरैजसो भने बिहान सूर्योदय हुने बेलामा गर्दा सबैभन्दा उत्तम हुन्छ भनिन्छ । योग अभ्यास भनेको आफ्नो सामर्थ्यअनुसार र होशमा रहेर गर्नुपर्ने हुन्छ । योग जबर्जस्ती गर्ने भन्ने हुँदैन । शरीरको स्वभाव, क्षमता सबै हेरविचार गरेर योग गर्नुपर्ने हुन्छ ।

योगमा हुने धेरै वटा अभ्यासमध्येमा विशेष खालको रोगमा विशेष किसिमको अभ्यास गर्न नमिल्ने हुन्छ । उच्च रक्तचाप भएका व्यक्तिले उल्टो पर्ने खालको र अगाडि झुक्ने खालको अभ्यास गर्नु हुँदैन । ढाडको नसा च्यापिएकाले उफ्रिने खालको अभ्यास गर्न मिलेन ।

योगको अभ्यास गर्दा यति गरियो, यति घण्टा गरियो भन्दा पनि होशमा रहेर आफ्नो चेतनालाई अनुभव गरेर गर्नुपर्ने हुन्छ । यसमा प्रतिस्पर्धात्मक भाव भन्दा पनि आफ्नो चेतनालाई आफूतर्फ केन्द्रित गर्ने, आफ्नो होशलाई बढाउने खालको हिसाबले योग गर्नुपर्ने हुन्छ ।

कसरी गर्ने ?

योगमा धेरै अभ्यासहरु हुन्छन् । सामान्यतः हामीले आसन, प्राणायाम, मुद्रा, बन्ध, ध्यानको धेरै प्रयोग गर्छौँ । सबैभन्दा पहिला शरीर खुकुलो हुनेगरी सूक्ष्म व्यायामहरु गरिन्छ । त्यसपछि बल्ल आसनहरु गरिन्छ । आसन गर्दा पनि त्यसको तन्काइलाई महसुस गरेर अभ्यासहरु गरिन्छ ।

एकै पटक ध्यान गर्दा अप्ठेरो हुने हुनाले पहिला आसन, प्राणायाम, मुद्रा, बन्ध जस्ता अभ्यास गरिसकेपछि ध्यानको अभ्यास गर्न सजिलो हुन्छ । यसमा हामीसँग कति समय छ, कस्तो परिस्थितिमा छौँ भन्ने पनि हुन्छ।

सामान्यतया हामीले अलि शान्त ठाउँमा, खाली पेटमा, बिहानको समयमा, खुकुलो कपडा लगाएर नियमित खालको अभ्यास गर्नुपर्ने हुन्छ । यसो गर्दा हाम्रो शरीरको काम गर्ने क्षमतामा वृद्धि हुन्छ भने शान्त हुन र आनन्दित हुन सहयोग पुग्छ ।

रोगीले मात्र गर्ने होइन

रोग लागेपछि मात्रै योग गर्ने हो कि भन्ने खालको बुझाइ पनि छ । तर, जो मान्छे जसरी आए पनि योगमै आउँछन् । गीतामा कोही बिरामी परेर, कोही पैसा कमाउन, कोही ज्ञान योगको लागि अनि कोही जिज्ञासु भएर जसरी आए पनि तिनीहरुलाई स्वागत छ भन्ने कुरा पनि छ ।

सकेसम्म मानिस निरोगी हुँदादेखि नै योग अभ्यास गरेको राम्रो । रोग लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिने बेस भन्ने छ । सबैभन्दा राम्रो त्यही नै हो । तर, मानिसहरुलाई निरोगी छँदै योगमा आउन गाह्रो भयो भने पनि रोग लागिसकेपछि पनि कैयौँ चिजहरु गर्न सकिन्छ । उपयुक्त व्यक्ति, ठाउँ, जानकार मान्छेको परामर्शमा योग गर्नुपर्ने हुन्छ । सकिन्छ रोग लाग्नुभन्दा अगाडि नै गरेको बेस होइन भने पनि रोग लाग्यो अब नगर्ने भन्ने होइन । रोग लागिसकेपछि पनि गर्न सक्ने धेरै कुराहरु हुन्छन् ।

योग आफैँमा एउटा साधनाको विधि हो । हाम्रो चेतनालाई परम चेतनासँग जोड्नलाई सहयोग गर्ने एउटा विधि तथा लक्ष्य हो । यसलाई हामीले दैनिक जीवनको हिसाबले हेर्दा एउटा त स्वास्थ्यसँग जोड्न सकियो । अर्काे यसले स्वस्थ हुन् वा रोग लागिसकेपछि रोगको व्यवस्थापन गर्न सहयोग गर्छ ।

योगलाई अहिले अर्थसँग पनि लगेर जोडिएको छ । पर्यटनसँग पनि लगेर जोडिएको छ । विदेशीहरु आउने वा नेपालीहरु पनि योग गर्नका लागि विभिन्न ठाउँमा जाने गरी पर्यटनमा लगेर जोड्न सकिन्छ ।

खेलमा पनि यसलाई लगेर जोड्न सकिन्छ । विद्यालयमा पनि योग अभ्यास गराउन सकियो भने अध्ययन गर्ने क्षमता, स्मरण शक्ति, एकाग्रता बढाउन सकिने हुनाले यसलाई विद्यालयमा पनि लगेर पनि जोड्न सकिन्छ ।

त्यस्तै विभिन्न विद्यालय तथा विश्वविद्यालय शिक्षामा पनि योगलाई समावेश गरेको हुनाले योगलाई शिक्षामा पनि लगेर जोड्न सकिन्छ ।

सामाजमा शान्ति ल्याउन अनि सामाजिक अपराध घटाउन पनि योग महत्त्वपूर्ण हुने हुनाले यसलाई सामाजिक इन्जिनियरिङमा पनि लगेर जोड्न सकिन्छ ।

योगको सुरुवात

योगको सुरुवात परापूर्व कालदेखि नै भएको मानिन्छ । पतञ्जली ऋषिले यसलाई सूत्रवत् गरेको तथा योगको प्रवर्तककोरुपमा पनि लिइन्छ । दर्शनका हिसाबले पनि हाम्रा छ वटा पूर्वीय दर्शनहरु छन् त्यसमध्येको एउटा दर्शन योग दर्शनकोरुपमा रहेको छ । केही समय योग भनेको एकान्तमा गएर गर्ने, साधुले मात्र गर्ने अनि अरुलाई भन्न नहुने भन्नेरुपमा पनि रह्यो । यसकारण केही समय यसको प्रयोग सुस्त रह्यो ।

पछिल्लो समय रोगहरु बढ्दै गयो । सबै किसिमका भौतिक विकास भए पनि मानिस खुसी हुन सकेन । अनि योगको अभ्यास गर्दा मानिसहरु निरोगी हुने तथा खुसी पनि हुने गरेका कारण यसको प्रयोग बढ्दै गयो । परापूर्वकालमा भए पनि पछिल्लो समय यसको खोज अनुसन्धान व्यापक भयो । संयुक्त राष्ट्रसंघले जुन २१ तारिखलाई विश्व योग दिवसकोरुपमा मनाउन थालेपछि यसको व्यापकता बढ्दै गयो ।

पूर्वबाट पश्चिमी देशहरुतिर जाँदा योगबाट योगा भएको देखिन्छ । अंग्रेजीमा लेख्दा योगा हुन गएको हो । तर, वास्तवमा त्यो योग नै हो । विदेशतिर भने योग भनेर आसनलाई मात्र बढी केन्द्रित हुने गरेको पाइन्छ । जसको शरीर जति भाँचियो त्यो ठूलो योगी भन्ने मान्यता स्थापना भएको पाइन्छ ।

अझ हठ योग भनेको त जति धेरै हठ गरेर योग गर्यो त्यसलाई हठ योग भन्ने गरेको पाइन्छ । तर, वास्तवमा हठ योग भनेको त्यो होइन । हाम्रो शरीरमा रहेको उर्जालाई सूर्य र चन्द्र नाडीको उर्जालाई सन्तुलनमा राख्ने भन्ने हिसाब हो हठ योग भनेको । अहिले योग भनेर शरीर भाँच्ने आसनको पाटोलाई मात्र लिने गरेको जुन बुझाइ छ त्यसमा परिवर्तन हुनु जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*