बागमती प्रदेशमा ठेकेदारको सेटिङमा निर्माण गरिएका शित भण्डार प्रयोगविहीन

जनपत्र
५ असार २०८०, मंगलवार ०८:५३

हेटौंडा । बागमती प्रदेशमा ठेकेदारको सेटिङमा निर्माण गरिएका धेरै शितभण्डार प्रयोग बिहिन बनेका छन् । केही बन्दैछन् । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एउटै ठेकेदारलाई पोस्नेगरी निर्माण गरिएका शित भण्डारहरुमा हरेक वर्ष रकम निकासा गर्ने र ठेकेदारलाई पोस्ने भन्दा बाहेक अरु काम भएको छैन । शित भण्डार निर्माण सुरु गरेदेखि अहिले सम्म हरेक वर्ष शित भण्डार निर्माणका नाममा बजेट निकासा गर्ने तर, शितभण्डार बाट उपलब्धी नहुने समस्या छ ।

स्थानीय सहकारीहरुसंगको लागत साझेदारीमा समेत निर्माण गरिएका शितभण्डारका लागि सहकारीले गर्नुपर्ने लगानी स्थानीय सरकारले गर्दै आएका छन् । तैपनि त्यहाँ भएको प्रदेश सरकारको लगानीको उपलब्धी भएको छैन । हरेक वर्ष महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा बागमती प्रदेशमा निर्माण गरिएका शित भण्डार र गरिएको सरकारी खर्चका विषयमा प्रश्न उठाउँदै आएको छ । तैपनि नियम विपरितका खर्च रोकिएको छैन ।

वाग्मती सरकारले ‘एक जिल्ला एक शीत भण्डार’ अवधारणा ल्याएर सबै जिल्लामा शीत भण्डार निर्माण गरिरहेको छ । मकवानपुरको थाहा–३ मा ११ करोड ४७ लाखमा १ हजार ७ सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण भइरहेको छ । यसमा प्रदेश सरकारको ८ करोड ३ लाख र उत्तरी क्षेत्रका २७ वटा सहकारीको ३ करोड ४४ लाख लगानी छ । यहाँ उपकरण राख्न प्रदेश सरकारले ३ करोडको टेन्डर निकालेको छ । थाहामा योसहित सानाठूला ४ शीत भण्डार हुनेछन् । थाहा–६ मा साना किसान कृषि सहकारी संस्थाले ३ वर्षअघिबाट ५५ टन क्षमताको शीत भण्डारमा आलु राख्ने गरेको छ । थाहा–२ मा निजी क्षेत्रको मैना कृषि सेवा प्रालिले शीत भण्डार सञ्चालन गरेको छ ।

तरकारी र आलु पकेट क्षेत्र लक्षित गरी वाग्मती सरकारले दोलखा शैलुङ–३ बोत्लेमा निर्माण गरेको शीत भण्डारमा उत्पादित वस्तु राख्न किसानले चासो नदिएपछि सञ्चालनमा आउन सकेको छैन् । ६ करोड लगानीमा ३ सय मेट्रिक टन क्षमताका ४ वटा चिस्यान भवन, कार्यालयसहित अत्याधुनिक उपकरण जडान भएर परीक्षणसमेत भइसकेको छ । माथिल्लो क्षेत्रमा आलु उत्पादन हुने र शीत भण्डार तल्लो स्थानमा भएका कारण किसानले असजिलो मानेर प्रयोग गर्न नचाहेको स्थानीय कृषक पूर्णबहादुर खड्काले बताए ।

हिउँदमा लगाएको आलु शैलुङ क्षेत्रबाट असार साउनमा बिक्री हुन्छ । बेमौसमी आलुबाट किसानले राम्रो भाउ पाउँछन् । ‘बेमौसमी तरकारीको बारीमै भाउ पाइने भएकाले शीत भण्डारमा राख्नु पर्दैन,’ उनले भने, ‘२र४ बोरा आलु राखेर भएन, बारीमै ठेकेदार लिन आएकाले राख्ने गरेका छैनौं ।’ शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले निःशुल्क भण्डार गर्न आग्रह गरे पनि किसानले चासो नदिएको बताए । ‘शीत भण्डार सञ्चालनका लागि मासिक लाख खर्च भइरहेको छ,’ उनले भने ।

रामेछापमा प्रदेश सरकार र मन्थली नगरपालिकाले निर्माण थालेको शीत भण्डार ३ वर्षदेखि अलपत्र छ । करिब ७ करोड लगानीमा निर्माणाधीन उक्त शीत भण्डारमा बिजुली जोड्ने उपकरण, कम्पाउन्ड वाललगायत पूर्वाधार निर्माण बाँकी छ । थप लगानीका विषयमा विवाद भएपछि सञ्चालनमा ल्याउन अन्योल भएको नगरपालिकाका इन्जिनियर डिल्लीबहादुर अधिकारीले बताए ।

जुनार राख्न सिन्धुलीमा एक करोड लागतमा कमलामाई–४ दोभानटारमा निर्मित ३ सय ६० मेट्रिक टन क्षमताको शीत भण्डार प्रयोगविहीन अवस्थामा छ । झन्डै १५ वर्षअघि निर्माण भएको भवनमा दुई सिजन जुनार तथा आलु भण्डारण गरिएको थियो । त्यसपछि खर्च धान्नै नसकेर प्रयोगमा आउन नसकेको हो ।

सिन्धुपाल्चोकमा आधा दर्जन शीत भण्डारमध्ये केही अलपत्र र केही निर्माणाधीन छन् । काभ्रेमा निजी क्षेत्रको लगानीमा चार वटा शीत भण्डार सञ्चालनमा छन् । पनौती–९ को जगदम्बा कोल्डस्टोरका प्रबन्धक मोतीराम भट्टराई किसानले पर्याप्त उत्पादन नै नगर्दा शीत भण्डारले काम नपाएको बताउँछन् । १२ करोड लगानी गरिएको शीत भण्डार सञ्चालन खर्च धान्न मुस्किल भइरहेको उनले बताए । २०४९ देखि सञ्चालनमा रहेको बनेपा बुडोलस्थित २५ सय मेट्रिक टन क्षमताको पाँचखाल शीत भण्डार भने कृषकले प्रयोग गर्दै आएका छन् ।

बागमती प्रदेशको साविकको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेको अधिकांश शीत भण्डार अलपत्र अवस्थामा छन् । सरकारले प्रदेशका १३ वटै जिल्लामा व्यावसायिक कृषकलाई लक्षित गरी शीत भण्डार निर्माणको काम थालेको थियो । निर्माण कार्य प्रारम्भ भएको ५ वर्षसम्म पनि ती शीत भण्डारले पूर्णता पाउन सकेका छैनन् ।

स्थानीय सहकारी संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा मन्त्रालयले शीत भण्डार निर्माणको काम अघि बढाएको हो । प्रदेश सरकारले सहकारी निजी सहकार्यमा कुल लागतको निश्चित प्रतिशत रकम व्यहोर्ने गरी शीत भण्डार निर्माणको सम्झौता गरेको थियो ।

सरकारले ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लागतमा प्रदेशका १० वटा शीत भण्डार निर्माण सुरु गरेको हो । सरकारले चितवनको खैरहनी नगरपालिका वडा नम्बर–६, धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका वडा नम्बर–७, रसुवाको कालिका गाउँपालिका वडा नम्बर–२, सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर–५, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर–७, सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिका, दोलखाको जिरी नगरपालिका वडा नम्बर–५, रामेछापको मन्थली नगरपालिका, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर–५ र नुवाकोटकै बेलकोटगढी नगरपालिका वडा नम्बर–१० मा शीत भण्डार निर्माण सुरु गरेको थियो ।

प्रदेश सरकारले अधिकांश शीत भण्डारको निर्माणको लागि २ वर्षको समय अवधि दिएर ठेक्का सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार १० वटा शीत भण्डार २०७८ मै सम्पन्न भइ हस्तान्तरण भइसक्नु पर्ने थियो । तर, ती शीत भण्डारको भौतिक संरचनाको निर्माणको काम अझै बाँकी नै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*