मनहरीको साना किसानको ठुलो काम, दूध उत्पादन बृद्धी गर्दै उपभोक्तालाई सस्तो मुल्यमा बिक्री

जनपत्र
४ असार २०८०, सोमबार ०६:३८

हेटौंडा । पस्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–८ सिम्पानीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको आफ्नै पहिचान छ । यस गाउँपालिकामा मात्र नभएर मकवानपुर जिल्लाभरी साना किसान सहकारी संस्था परिचित नाम हो ।

२०५५ साल जेठ २६ गते स्थापना भएको यस सहकारीले किसानका निम्ति धेरै उदाहरणिय काम गर्दै आएको छ । सहकारीले किसानका लागि अनुदान कार्यक्रममा सहकार्य गर्ने, सहुलियत दरमा दाना बिक्री गर्ने, कृषि र पशु प्राबिधिक मार्फत किसानका खेतबारी र पशुपालनमा परेका अप्ठ्याराहरुमा सहयोग गर्ने लगायतका काम गर्दै आएको छ ।

साना किसान सहकारी संस्थाको धेरै वटा काम मध्यको हो किसानले उत्पादन गरेको दूध खरिद गर्ने र उपभोक्तालाई सस्तो मुल्यमा बिक्री गर्ने । सरकारले दूधको मुल्य बृद्धी गरेपछी निराश भएका मनहरीका उपभोक्ताहरुलाई भने यस सहकारीले राहत प्रदान गरेको छ ।

किसानबाट सरकारले तोकिएकै मुल्यमा खरिद गरेर थोरै मात्र नाफा राखेर उपभोक्तालाई सस्तो मुल्यमा दूध बिक्री गरिदै आएको बताउँदै साना किसान सहकारी संस्थाका अध्यक्ष बिमला कार्की भन्नुहुन्छ–‘निजी डेरी र हेटौंडा दूग्ध वितरण आयोजनाहरुले प्रतिलिटर दूधमा उपभोक्तालाई एक सय १० रुपैयाँमा बिक्री गर्दै आएको छ । तर, हामिले किसानबाट खरिद गरेको दूध मनहरी र आसपासका क्षेत्रमा आम उपभोक्ताहरुलाई प्रतिलिटर ८० रुपैयाँका दरले उपलब्ध गराउँदै आएका छौं । किसानलाई भने सरकारले तोकेको मुल्यनै तिरिदिएका छौं । हाम्रो सहकारीले किसान र उपभोक्ता दुबैको हितका निम्ति काम गर्दै आएको छ ।’


पहिलेका वर्षहरुमा भएको कोरोनाको महामारीपछी किसानको दूध बिक्री हुन छोडेपछी नयाँ उपाय रचेर किसानको दूध सहकारीले खरिद गर्दै डुलाएर उपभोक्तालाई सस्तो मुल्यमा बिक्री गर्ने परिपार्टीलाई निरन्तर्ता दिदै अहिले पनि त्यही कामलाई निरन्तर्ता दिइएको छ ।

त्यती बेला किसानले उत्पादन गरेको दूध बिक्री हुन नसकेर फाल्नुपर्ने अवस्था आएको समयमा सहकारीले खरिद गरेर उपभोक्तालाई सस्तो मुल्यमा बिक्री गर्न सुरुवात गरिएको र किसानलाई पनि राहत मिलेको थियो । त्यही कामलाई अहिले पनि निरन्तर्ता दिइएको हो ।

पछील्ला केही महिनामा उल्लेख्य मात्रामा दूध उत्पादनमा बृद्धी भएपछी स्थानीय उपभोक्तालाई बिहान, बेलुका बिक्री गर्ने र जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुर मार्फत निजी डेरी उद्योगलाई बिक्री गर्दै आएको सहकारीका व्यावस्थापक ज्योती सुवेदी बताउनुहुन्छ ।

दूध उत्पादन बृद्धी गर्नका लागि नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाइ हेटौंडाले साना किसान सहकारी मार्फत १५ जना किसानका लागि बिभीन्न क्षेत्रमा सहयोग गरेको छ ।

साना किसान सहकारी संस्था, बैक, स्वयं किसान र इकाइको त्रीपक्षिय लगानीमा यस क्षेत्रका १५ जना किसानको नयाँ आधुनिक गोठ निर्माण गर्ने, गाई खरिद, घाँस काट्ने चापकटर खरिद, काउम्याट खरिद, घाँसको बिउ र दाना वितरण, ड्रम खरिद, दूध बिक्री गर्न लैजाने क्यान खरिद, किसानका लागि पन्जा, बुट लगायतका सामाग्री खरिदमा सहयोग गरिएको सहकारीका अध्यक्ष कार्की बताउनुहुन्छ ।

बिभीन्न कामका लागि भनेर विकेन्द्रिकृत आयोजना सहयोग इकाइले ७० लाख ४८ हजार ११२ रुपैयाँ सहयोग गरिएको र अरु सहकारी अनी बैक मार्फत लगानी गरेर दूध उत्पादनमा बृद्धी गरिएको कार्यालयका प्रमुख डाक्टर बिदुर प्रसाद गौतम बताउनुहुन्छ ।

बितेको आर्थिक वर्ष २०७८–०७९ मा संझौता गरेर चालु आर्थिक वर्षमा काम सकिएको उहाँले बताउनुभयो । १५ जना किसानले नयाँ शुधारिएको गोठ निर्माण गर्ने, प्रत्यक किसानले ३ वटाका दरले गाई खरिद गरेर आफ्ना गोठमा बाध्ने काम गरेका छन् । पहिले भइरहेका गाइ, भैसीमा पछी थप गरेर गाई खरिद गरिएको हो । यीनै किसानका लागि थप सहज होस भन्ने उदेस्यले सामानहरु पनि सहयोग गरिएको गौतम बताउनुहुन्छ ।

त्यसैगरी किसानले बिक्री गर्न ल्याएको दूध चिस्याउने बनाउनका लागि यस सहकारी संस्थाका लागि २ हजार लिटर क्षमताको चिस्यान केन्द्र समेत सहकार्यमा खरिद गरेर राखिएको उहाँ बताउनुहुन्छ ।

यस सहकारी संस्थामा २ हजार ५ सय जना किसान आवद्ध छन् । ती मध्यमा २ हजार २ सय ४८ जना किसानले दूध बिक्री गर्ने गरेका छन् । शुधारिएको गोठ निर्माण गर्नका लागि, गाइ खरिद र बिभीन्न सामाग्री समेत इकाइसंगको सहकार्यमा खरिद गरेपछी मनहरी गाउँपालिका वडा नम्बर–९ ज्यामिरेका कृष्ण प्रसाद अर्यालले आफुले पहिले बिक्री गर्दै आएको दूध उत्पादनमा बृद्धी गरेर दैनिक ५० लिटर दूध साना किसान सहकारीमा बिक्री गर्दै आउनु भएको छ ।

उहाँले गाइ र भैसी व्यावसायीक रुपमा पालन गर्दै आउनुभएको छ । ज्यामिरेकै हिरा अर्यालले पनि यस सहकारीमा धेरै दूध बिक्री गर्ने किसानका रुपमा परिचित हुनुहुन्छ ।
२० करोड रुपैयाँ शेयर पूँजी भएको यस सहकारी संस्थाले दूध खरिद र बिक्री गर्ने काम मात्रै गर्दैन । रकम बचत गर्ने, ऋण लगानी गर्ने कामलाई पनि स्थापना कालदेखि गर्दै आएको छ । यस सहकारीमा दैनिक बचत गर्ने, लगानी गर्ने काम गरिदै आएको सहकारीका अध्यक्ष कार्की बताउनुहुन्छ ।

यसैगरी सहकारीको कार्यालय परिषरमा किसानका लागि आवस्यक सामान सर्बसुलभ मुल्यमा बिक्री गर्नका लागि पसल पनि राखिएको छ । गाइ, भैसी र किसानलाई आवस्यक सबै खालका सामाग्री बिक्रीका लागि राखिएको उहाँ बताउनुहुन्छ ।

अहिले यस क्षेत्रबाट दैनिक एक हजार ४ सय लिटर दूध संकलन हुँदै आएको अध्यक्ष कार्की बताउनुहुन्छ । सहकारीले किसानका लागि बषौं देखि बिभीन्न महत्वपूर्ण काममा सहयोग गर्दै आएको छ । किसानको खेत, बारीमा अन्नबाली र तरकारीबारीमा परेका समस्या समाधान गर्नका लागि कृषि प्राबिधिक र पशु चौपायाहरुलाई परेको समस्या समाधान गर्नका लागि पशु प्राबिधिक राखेर काम गराउँदै आइएको छ ।

बिशेषगरी दूध उत्पादक किसानका लागि निशुल्क पशु बिमा लगायतका काममा सहयोग गरिएको बताउँदै उहाँ भन्नुहुन्छ–‘सहकारीमा आवद्ध रहेका किसानलाई सहुलियत दरमा दाना लगायतका सामाग्री बिक्री गर्ने, प्राबिधिकहरु उपलब्ध गराउने, उपभोक्तालाई पनि सस्तो मुल्यमा दूध बिक्री गर्ने लगायतका काम गर्दै आएका छौं । सहकारी भनेको नाफा गर्ने संस्था नभइकन बजार मुल्य भन्दा सस्तो र गुणस्तरिय सेवा दिने हाम्रो कर्तब्य हो ।’

सहकारीले आफ्ना सदस्य र गैर सदस्यहरुलाई सेवा मात्र दिएको छैन । स्थानीय १५ जनालाई रोजगारी समेत दिएको छ । सहकारीले गर्ने बिभीन्न क्षेत्र छुट्याएर कर्मचारीहरुलई कामको बिभाजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*