४० करोड रुपैयाँको निजी लगानीमा तिलोत्तमामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शिलान्यास

जनपत्र
२९ जेष्ठ २०८०, सोमबार १९:१९

काठमाण्डाै – रुपन्देहीकाे तिलोत्तमामा ४० करोड रुपैयाँकाे निजी लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बन्ने भएकाे छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवामा बन्ने एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको आज शिलान्यास भएको हो ।

मैदान निर्माणका लागि करिब दुई वर्ष अघिदेखि जग्गा खरिद प्रक्रिया सुरु गरिएको थियो । पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणकाे प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक विनोद कुँवरले बताउनु भयाे । गएको दुई हप्ता झन्डै ८ सय ट्रक माटो हालेर जग्गा सम्याइएकाे थियाे ।

पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रङ्गशाला बनाइने  र प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाउने याेजना रहेकाे कुँवरले बताउनुभयाे। एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रङ्गशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कुँवरले सरकारले एउटा राम्रो अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन नसकेको र चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय मैदान अलपत्र परेको अवस्थामा आफूले एकल लगानीमा मैदान निर्माण सुरु गरेको बताउनु भयाे । मैदान निर्माणको लागि अहिले नै  रकम सुनिश्चित गरिएको उहाँको भनाइ छ ।

एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक कुँवर तथा चिफ अपरेटिङ अफिसर सुदीक्षा गौतमसँग यस रङ्गशालाको स्वामित्व रहेकाे छ । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आईटी ट्रेनिङ इन्सिच्युट हो ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बेस्डर रहनुभएकाे छ । यो क्रिकेट रङ्गशालामा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर रहने छ भने शक्ति गौचनलाई यसको जिम्मेवारी दिइएको छ । रङ्गशाला कम्पाउन्डमा चार तलाको भवन बनाएर १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने याेजना रहेकाे छ ।

यूएईमा लामो समय बसेर अवुधाबीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा रहनुहुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*