मकवानपुरको बागमती गाउँपालिकामा चरम बेथिति, कार्यालय समयमा ४९ कर्मचारी अनुपस्थित

जनपत्र
२२ जेष्ठ २०८०, सोमबार १३:३०

बागमती । घरघरको सरकार भनेकै स्थानीय सरकार हो । आमनागरिकको घरदैलोको सरकार अनुशासित र नागरिक प्रति उत्तरदायी हुनै पर्छ । तर त्यही सरकारमा बेथिति मौलायो भने कस्तो होला ? उदाहरणका लागि मकवानपुरको बागमती गाउँपालिका गए पुग्छ ।

हिजो आइतबार पालिकामा बिहानको साढे १० बजे सम्म धेरै कर्मचारी अनुपस्थित थिए । पालिका पुग्दा अधिकांश कर्मचारीका टेबुल कुर्सीहरु खाली थिए । पालिकाका प्रशासकीय अधिकृत झम्कनारायण घलान गत शुक्रबारदेखि कुनै लिखित जानकारी बिना अनुपस्थित रहेको पाइएको छ ।

बागमती गाउँपालिकाको हाजिरी रजिष्टर कार्यालयका निमित्त प्रमुख दिनेश कुमार गुप्ताले हेरेपछी ४९ जना कर्मचारीको हाजिरी अनुस्थित रहेको थियो । आइतबार अनुपस्थित मात्र होईन । गत जेठ ७ गते देखि पालिकामा नआएको कर्मचारीको समेत पालिका प्रशासन बेखबर भेटियो । अधिकांश कर्मचारी फिल्डमा रहेको दाबी गरिरहेको पालिकासँग फिल्डमा खटिएको कर्मचारीको कुनै रेकर्ड नै छैन ।

कर्मचारीहरु डे«स कोडमा समेत भेटिदैनन् । सरकारले कर्मचारीलाई अनुशासित बनाउन र एकरुपता ल्याउन प्रतिबर्ष कर्मचारी पोशाकका लागि १० हजार रुपैया उपलब्ध गराउँछ । तर बागमती गाउँपालिकाका कर्मचारीहरु सरकारले तोकेको मापदण्डमा भेटिएनन् भने अधिकांश कर्मचारीसँग कर्मचारी परिचयपत्र समेत भेटिएन ।
त्यतिमात्र होईन, अघिल्ला मितिमा काम गरिएको देखाउनको लागि चलानी किताबमा चलानी नम्बर खाली राखेको भेटिएपछि कर्मचारीहरुले तत्कालै सो नम्बर कोरेका थिए ।
कर्मचारी पालिकामा नभेटिदा एउटा कामको लागि पटकपटक धाउनु परेको र अध्यक्ष सर्केश घलान र उपाध्यक्ष फडिन्द्र तिमल्सीना समेत पालिकामा नियमित नआउने गरेको सेवाग्राही दिनेश लामा बताउनुहुन्छ । अर्का सेवाग्राही सुजन तामाङले पनि गाउँपालिकामा कर्मचारी समयमा नआउने गरेको दुखेसो पोखे । त्यती मात्र होइन बागमती गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष एहुन्ना राइले समेत कर्मचारीहरु समयमा नआउने गरेको गुनासो गर्नुभयो ।

पालिकामा अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना अनिवार्य रहनुपर्ने हुन्छ । पालिका भित्रको बेथिति बारे प्रश्न गर्दा गाउँपालिकाका उपाध्यक्ष तिमल्सीनाले बेथिति रहेको स्वीकार गर्नु भएको छ । यसरी आम नागरिकलाई घरआँगनमै सेवा दिन बसेको स्थानीय सरकार र यसका कर्मचारीहरु नसुध्रने हो भने, घरघरको सरकार भन्ने नारा, नारा मै सीमित हुने निश्चित छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*