हेटौंडामा निर्माणाधीन सब स्टेसनको कुलमान घिसिङले गरे अनुगमन, काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी

जनपत्र
१४ जेष्ठ २०८०, आईतवार ०८:१८

हेटौँडा/ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका स्थित थानाभर्याङमा निर्माणाधीन सब स्टेसनको अनुगमन भ्रमण गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सब स्टेसनको निर्माण प्रगतिका विषयमा जानकारी लिएका थिए । गत फागुनको अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका घिसिङ २२० केभी सब स्टेसन निर्माणमा त्यसपछि कुनै प्रगति नदेखिएपछि आक्रोशित बने ।

त्यतिबेला ठेकेदार कम्पनीहरूले आगामी असारभित्र सब स्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रतिबद्धता विपरीत निर्माण स्थलमा कुनै प्रगति नदेखिएपछि आक्रोशित बनेका घिसिङले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिए ।

उनले सब स्टेसन निर्माण स्थलबाटै निर्माणको ठेक्का लिएका भारतीय कम्पनीहरू सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमका पदाधिकारीहरूलाई फोन गरी तोकिएको समयमा सम्पन्न नगरे जरिवाना तिराउने चेतावनी दिए । भारतको दिल्लीमा रहेका सिमेन्सका निहित गुप्ता र टेलमोसका रवि गुप्तालाई छुट्टाछुट्टै फोन गरी आइतबार काठमाडौँ आएर संयुक्त बैठक गर्न निर्देशन दिए ।

‘सब स्टेसन निर्माणको अनुगमनमा नियमित रूपमा आइरहेको छु, विगत दुई महिनामा केही काम गरेनौ,  सब स्टेसनको निर्माण तत्काल सम्पन्न गरी पूर्व–पश्चिममा थप विद्युत् प्रवाहका लागि हामीलाई चाप छ, सब स्टेसन तत्काल सञ्चालन गर्न सकेनौँ भने दैनिक रूपमा ४००–५०० मेगावाट विद्युत् खेर जान्छ, यसको सबै क्षतिपूर्ति तिराउँछौँ,’ उनले चेतावनी दिँदै भने । ‘तुरुन्त काठमाडौँ आएर संयुक्त बैठक गर, यदि काम  गर्न सक्दैनौ भने छोडेर जाऊ ।’

चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी रहेको काम गर्न टेन्डर मार्फत सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५मा ठेक्का सम्झौता भएको थियो । यही प्याकेजमा  सुनसरीको इनरुवामा पनि २२० केभीको सबस्टेस निर्माण पनि राखिएको छ । कोभिड–१९को महामारीलगायतका कारणले प्रभावित भएपछि सब स्टेसनको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*