ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
काठमाडौं । सर्लाही गौडेता-३ का रामजतन महतो खेतीपाती गरेर परिवार चलाइरहेकै थिए । तर आमा बिरामी भएपछि उनको परिवार ऋणमा पर्यो ।
काठमाडौंको शिक्षण अस्पतालमा तीन महिना आमाको उपचार गरेर ऋणसहित सर्लाही फर्किएका उनलाई मेनपावर ऐजेण्टको काम गरिरहेका नरेन्द्र ठाकुरले मलेसियामा आकर्षक जागिर खुलेको भन्दै जान फकाए ।
ठाकुरले मलेसिया जान ३ लाख रुपैयाँ खर्च लाग्ने र पुगेपछि २ हजार ३४३ मलेसियन रिङ्गेट (साढे ६७ हजार नेपाली रुपैयाँ) तलब हुने बताएका थिए । त्यसपछि घरसल्लाह गरेर महतोले ठाकुरलाई ऋण खोजेर ३ लाख बुझाए अनि ४ असोज २०७९ मा मलेसिया उडे ।
मलेसिया जाँदा मेनपावर परी ओभरसिस प्रालिले भनेको काम गर्ने कम्पनी डाइनमिक वियर कम्पनी थियो, तर महतो जब मलेसिया ओर्लिए मेनपावरले भनेको कम्पनी नै भेटेनन् ।
भेटुन् पनि कसरी ? उनलाई त मलेसियामा कामदार सप्लाइ गर्ने कम्पनीमा पठाइएको रहेछ । जुन कुरा उनलाई मलेसियामा पुगेपछि थाहा हुन्छ ।
‘त्यो सप्लायर्सले म जस्ता करिब २ सय कामदारहरुलाई नेपालबाट झुक्काएर मलेसिया पुर्याएको रहेको छ,’ महतोले भने, ‘हामीलाई एउटै कम्पनी हो २ वर्षसम्म काम गर्न पाउँछौ भनेर लगेको थियो, तर उहाँ पुग्दा मान्छे सप्लाई गर्ने कम्पनीमा लग्यो, त्यसपछि १० दिन एउटा कम्पनीमा, १५ दिन अर्को कम्पनीमा काम गराउँदै डुलायो ।’
उनले ८ महिनामा ६ वटा कम्पनीमा काम गर्दा जम्मा ४ महिना जति काम गर्न पाए पनि वेसिक तलबसम्म नदिएको गुनासो गरे । ‘कम्पनीहरुले हामीलाई भेडा बाख्रा जस्तो व्यवहार गरे, कहिले भोकै काम लगाए, कहिले काम लगाएर पैसा दिएनन् । हामी त बेचिएको सामान जस्तो गरे’ यति भन्दै गर्दा महतो भक्कानिए । भक्कानिँदै थपे, ‘मलेसियामा कम्पनीहरुले बिरामी हुँदा काम गर्न नसकेपछि होस्टेलबाट निकाल्दिने, औषधिको पैसा आफैंलाई तिर्न लगाउने गरे ।’






