निकुञ्जको लामितालमा रमाउँदै पुष्पा र अञ्जली
चितवन । चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयको हुर्किएका गैंडाका ‘टुहुरा’ दुई केटीहरू पुष्पा र अञ्जली अहिले जंगलमै अभ्यस्त हुन थालेका छन् ।
कोषका कर्मचारीले दूध खुवाएर हुर्काएका ती गैंडा घरेलु बन्न थालेपछि जंगली बनाउने भन्दै गत वैशाख ३१ गते चितवन राष्ट्रिय निकुञ्जको जंगलमा लगेर छाडिएको थियो ।
उनीहरुलाई प्राकृतिक बासस्थानमा फर्काउने र जंगली बनाएर प्रजननका लागि योग्य बनाउने उद्देश्यसहित छाडिएका दुवै गैंडा लामिताल क्षेत्रमा रमाउन थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । ‘दुवै गैंडा अहिले लामिताल क्षेत्रको जंगलमा अभ्यस्त बन्न थालेका छन् । चर्को घाममा निकुञ्जको लामितालमा दिनभरी आराम गर्ने उनीहरु साँझ परेपछि नजिकैको हरियो घाँसमा चर्ने गर्दछन्,’ निकुञ्जका सूचना अधिकारी तिवारीले भने ।
निकुञ्जका कर्मचारीले २०७६ पुस ५ गते नवलपुरको तमासपुरमा हिलोको दलदलमा भासिएको अवस्थामा एउटा र २०७७ मा गैंडा गणनाको क्रममा चैत १४ गते निकुञ्जको नवलपुर दिव्यपुरीको क्षेत्रमा अर्को गरी दुईवटा गैंडाका बच्चा आमाविहीन अवस्थामा फेला पारेका थिए । तमासपुरमा भेटिएको दुई महिनाको बच्चालाई पुष्पा र दिव्यपुरी क्षेत्रमा भेटिएको १ महिनाको बच्चालाई अञ्जली नाम राखिदिएको थियो । ती बच्चालाई निकुञ्जका कर्मचारीले तेल लगाउँदै र दूध खुवाउँदै हुर्काएका थिए । उनीहरुलाई संयुक्त रुपमा ‘पुष्पाञ्जली’ भनिन्थ्यो ।






