तातोपानी नाकामा दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी गर्दै व्यवसायी

जनपत्र
११ जेष्ठ २०८०, बिहीबार १४:१३

काठमाण्डाै – नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी सञ्चालनमा आए पनि व्यवसायीले सडक दुर्घटनाको जोखिम माेलेरै सामान ढुवानी गर्दै आएका छन् । झण्डै आठ वर्षपछि वैशाख अन्तिमदेखि सञ्चालनमा आएकाे तातोपानी नाकाबाट व्यवसायीहरु दुर्घटनाको जोखिम माेलेरै सामान ढुवानी गर्न बाध्य छन् । नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनीय हुँदा सामान ल्याउँदा निक्कै समस्या हुने गरेकाे व्यवसायीहरुले बताएका हुन् ।

पछिल्लो समय सडककै कारण तातोपानी नाकाबाट व्यवसायीहरुले सामान आयात गर्ने क्रम घट्दै गएकाे छ । सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीहरुले अर्को नाकाबाट सामान आयात गर्ने गरेको गुनासाे गरेका छन् । सडकको स्तरोन्नति र विस्तार हुन नसक्दा व्यवसायीहरुले बर्सेनि सास्ती भोग्नुपरेको छ।

तातोपानी क्षेत्र भौगोलिक रुपमा विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम सुरु भएसँगै सडकमार्ग जीर्ण  हुने गरेकाे छ। तातोपानी जोड्ने मुख्य सडक बाढी, सुक्खा पहिरो लगायतका समस्याका कारण सधैँ भासिने गरेको छ । व्यवसायीहरुले सरकारले तातोपानी जोड्ने सडक मर्मतका लागि आवश्यक चासो नदिएको गुनासो गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडक मार्ग सरकारले दीर्घकालीन मर्मत गर्न नसक्दा सधैँ जोखिम मोलेर गाडी चलाउनुपर्ने बाध्यता रहेकाे उनीहरु बताउँछन् । दुई पहाडबीचबाट बग्ने भोटेकोसी नदीको किनार भएकाले पनि तातोपानी नाका जोड्ने सडकमा जोखिम बढी हुने गर्छ । व्यापारिक नाका भएकाले सामान बोकेर ठूला कन्टेनर सहज रुपमा गुड्नसक्ने अवस्था नहुँदा सडक दुर्घटनाको ठूलो जोखिम भएकाे तर  सरकारले सडकको स्तरोन्नति गरी दीर्घकालीन समस्या समाधानको उपाय खोज्न सकेको छैन ।

तातोपानी नाका हुँदै सामान आयात गर्ने व्यवासायीहरु नाकाको मुख्य सडक मर्मत नहुँदा समान ढुवानी गर्न समेत समस्या भएको गुनासो गर्छन् । व्यवसायी दामोदर सत्याल सडक जीर्ण भएकाले ४० फिटको कन्टेनर काठमाण्डौसम्म ल्याउन असहज भइरहेको बताउनु हुन्छ । उहाँले सडक जीर्ण भएकै कारण चीनबाट आयात गरिएको सामानको मूल्य काठमाण्डौ पुर्‍याउँदा बढ्ने गरेको बताउनु भयो । उहाँले भन्सारमा व्यवसायिका लागि आवश्यक सबै सुविधा सरकारबाट प्राप्त भए पनि सडक मार्ग भने राम्रो बनाउन नसक्दा सधैँ समस्या भएको गुनासो गर्नुभयो ।

अर्का व्यवसायी विजय शेर्पाले बाह्रबिसेदेखि तातोपानी नाकासम्म २४ किलोमिटर सडक जोखिमपूर्ण रहेको बताउनु भयो । उहाँले पालिका र व्यवसायीहरुले सरोकारवाला निकायहरुलाई सडक मार्ग स्तरउन्नतिका लागि पहल गर्न आग्रह गर्दा पनि अहिलेसम्म हुन नसकेको गुनासो गर्नुभयो । उहाँले सरकारले तातोपानी नाका जोड्ने सडक समयमा नै स्तर उन्नति गरे स्थानीयदेखि व्यवसायीहरुलाई समेत सहज हुने बताउनु भयो।

त्यस्तै,तातोपानी सडकका कन्टेनर चालक पेम्बाछिरिङ तामाङले तातोपानी सडकमा ढुवानीको कन्टेनर चलाउन असहज रहेको बताउनु भयो । उहाँले सडक सानो र साँघुरो भएकाले दुई तर्फबाट कन्टेनर आउँदा साइट दिने ठाउँ समेत नहुने गरेकाे बताउनु भयो । उहाँले कन्टेनर बेलाबेलामा सडकमाथिको पहाडमा ठोक्किने  गरेकाे बताउनु भयो ।

तोतापानी नाका पूर्णरुपमा सञ्चालनमा आउँदा सडकमा गाडीको चाप बढकाे छ । तातोपानी नाका सहज रुपमा सञ्चालनमा आए पनि सडक मार्गको अवस्था नाजुक र जीर्ण रहेका कारण सामान ढुवानीमा समस्या छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*