नक्कली शरणार्थी प्रकरण : ‘बालुवाटार–सिंहदरबारमा लेनदेनकाे कुरा आइरहेकाे छ, हामीले कसलाई विश्वास गर्ने ?’

जनपत्र
१० जेष्ठ २०८०, बुधबार १३:५३

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसद रवि लामिछानले नक्कली भुटानी शरणार्थी प्रकरणबारे छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गर्न माग गर्नुभएको छ ।

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज बुधवारको बैठकको सुरुमै समय माग गरी सभापति लामिछानेले अहिले भइरहेको छानबिनले नागरिकले चाहेजस्तो नतिजा दिन सक्दैन भन्नुभयो । ‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्ले नै विशेष छानबिन समिति बनाउनुपर्छ । भ्रष्टाचारको विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आएका थियौँ, तीन राजनीतिक दल बसेको विषयमा आशङ्का व्यक्त गर्दै आएका थियौँ, आज आरोप लाग्न कुनै राजनीतिक दल बाँकी छैन, राज्यका निकायको अनुसन्धानमा नाम आइरहेको छ, अनुसन्धान गर्ने निकायको नाम आइरहेको छ, यस्तो अवस्थामा निष्पक्ष छानबिन हुन्छ भन्न सक्ने आधार छैन’, उहाँले भन्नुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणकै सवालमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री निवास, सिंहदरबारमा लेनदेनको विषय आइरहेको सन्दर्भ उल्लेख गर्दै सभापति लामिछानेले आफूहरूले कसलाई विश्वास गर्ने भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘विश्वासको वातावरण बन्द भएको छ, यसका लागि संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्ने हुन्छ, जुनजुन निकाय लागि परेका छन् कसैको पनि विश्वास गर्ने वातावरण छैन, छानबिनका क्रममा जसजसको नाम आएको छ उसलाई सोधपुछ गर्न नहुने ?, छानबिनसमेत गर्न किन डराउनुपर्ने नाम आएको मान्छेको बारेमा ।’

जसजसको नाम आएको छ उनीहरु सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने, कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको माग छ । ‘यत्रो ठूलो अन्तर्राष्ट्रिय बेइज्जत भएको अवस्थामा प्रहरी प्रमुखले अडियो सही हो भनिरहनुभएको छ, एक पटक सोधबुझका लागि बोलाउन नहुने को हो उहाँहरू ?’, लामिछानेले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*