जडीबुटी विदेश निर्यात गर्न सहज बनाउनेछु : वनमन्त्री महताे

जनपत्र
१० जेष्ठ २०८०, बुधबार १३:३६

काठमाण्डाै – नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडीबुटी उत्पादनमा जोड दिई विदेश निर्यातका लागि सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बुधवार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै सिंहदरबारमा पदबहाली गर्दै मन्त्री महताेले यस्ताे बताउनुभएको हो । उहाँले कुहिएर जाने काठहरूलाई अब व्यवस्थित गर्ने कुरामा विशेष ध्यान दिने पनि बताउनुभयो । नेपालमा कुहिएर जाने काठहरूको कानुनअनुसार विदेश निर्यात गर्ने वा स्वदेशमा नै खपत गर्नसक्ने वातावरण सिर्जना गर्ने मन्त्री महाताेले प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वदेशी जडीबुटीलाई निर्यात गर्न सहज भूमिका खेलिदिने र उत्पादनलाई प्रोत्साहन गर्ने पहिलो प्राथमिकता हुनेछ । जङ्गलमै कुहिएर जाने काठहरूलाई व्यवस्थित गरेर सरकारको नियम, कानुनअनुसार निर्यात गर्न वा स्वदेशमा नै खपत गर्न वातावरण बनाइन्छ । म मन्त्रालयमा रहुन्जेल कुनै किसिमको लोभ, प्रलोभनमा काम गर्दिनँ । देश र नागरिककाे हितमा काम गर्नेछु ।’

मन्त्री महतोले वातावरणमा असर गर्ने उद्योगहरूलाई निगरानी गरी कुनै असर नपर्ने गरी सञ्चालनमा ल्याउने पनि बताउनुभयाे । आफू मन्त्रालयमा रहुन्जेलसम्म भ्रष्टाचार हुन नदिने र कुनै प्रलोभनमा परेर काम नगर्ने उहाँकाे प्रतिबद्धता छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*