आईपीएलबाट सन्यासबारे धोनी भन्छन् : निर्णय गर्न मसँग ८-९ महिना छ
काठमाडौं । महेन्द्र सिंह धोनीले ४१ वर्षमा पनि इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नाई सुपर किंग्सको कप्तानी गरिरहेका छन् ।
उनकै कप्तानीमा चेन्नाईले मंगलबार साविक विजेता गुजरात टाइटन्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । चार पटकको च्याम्पियन चेन्नाई फाइनल पुगेको यो दशौं पटक हो ।
उमेर चार दशक काटिसक्दा पनि महेन्द्र सिंह धोनी आईपीएलबाट सन्यास लिन हतारोमा छैनन् । ४१ वर्षीय धोनीले यसबारे निर्णय लिन आफूसँग पर्याप्त समय भएको बताएका छ । अर्को सिजनको आईपीएलको लागि डिसेम्बरमा अक्सन हुने हुँदा आफूले त्यतिबेला नै निर्णय गरे हुने उनको भनाइ छ ।
‘मसँग निर्णयका लागि ८-९ महिना समय छ । किन अहिले टाउको दुखाउनु ?’ चेन्नाईलाई दशौं पटक फाइनल पुर्याएपछि धोनीले पोष्ट म्याच प्रिजेन्टेसनमा भने ।
चेन्नाई(१७२/७) ले घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा भएको पहिलो क्वालिफायरमा गुजरातलाई (१५७/१०) १५ रनले पराजित गरेको थियो ।
यस सिजनको आईपीएल सुरु भएदेखि नै २०२३ धोनीका लागि अन्तिम आईपीएल हुन सक्ने चर्चा चलिहरेको थियो । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने यसअघि नै सन्यास लिइसकेका छन् ।
‘म सधैं चेन्नाई आउनेछु । म जनवरीदेखि घर बाहिर छु । मार्चदेखि प्राक्टिस गरिरहेको छु । त्यसैले हामी हेर्दैछौं’, भारतीय राष्ट्रिय टिमका पूर्व कप्तान धोनीले भने ।






