वैदेशिक रोजगारीमा रहेका र फर्किएकाहरूको विवरण सङ्कलन गर्दै विदुर नगरपालिकामा

जनपत्र
९ जेष्ठ २०८०, मंगलवार ११:४५

नुवाकोट – विदुर नगरपालिकाले वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएकाहरूको तथ्याङ्क सङ्कलन गरी वैदेशिक रोजगार सम्बन्धी पार्श्वचित्र तयार पार्ने भएको छ ।

पालिकाबाट वैदेशिक रोजगारमा गएका, फर्किएका, वैदेशिक रोजगारीको कारण समस्यामा परेका र अहिलेको अवस्था पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले विवरण सङ्कलन गर्न थालिएको नगरपालिकाले जनाएको छ ।

तथ्याङ्क सङ्कलनका लागि नगरपालिकाको प्रत्येक वडामा एक एक जना गणक खटाएको  छ ।

गणकहरूले हरेक घरमा पुगेर वैदेशिक रोजगारसँग सम्बन्धित रहेर उनीहरूको अवस्था, सीप तालिम लिए नलिएको, फर्किएकाहरूको सीप पुँजी तथा उनीहरूले पालिका वा अन्य क्षेत्रबाट चाहेको सहयोगका क्षेत्रहरूका बारेमा विवरण सङ्कलन गर्ने छन् ।

नगर प्रमुख राजन श्रेष्ठले प्राप्त प्रतिवेदनको आधारमा आवश्यकताको पहिचान गरी नीति तथा कार्यक्रम तयार गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर उपप्रमुख श्री प्रभा बोगटीले वैदेशिक रोजगार हाम्रो रहर नभई वाध्यात्मक विकल्प रहेकोले यस क्षेत्रलाई व्यवस्थापन गर्न विदुर नगरपालिका लागि परेको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*