नक्कली शरणार्थी प्रकरणमा बादल र प्रेम राई समेत संलग्न रहेको टोपबहादुरको बयान, नैनकला पनि पोलिइन्

जनपत्र
९ जेष्ठ २०८०, मंगलवार ०७:०७

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नो बयानमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलदेखि तत्कालीन गृह सचिव प्रेम राईसम्मलाई पोलेका छन्।

उनले बयानमा त्यस वेलाका गृहमन्त्री बादल, सुरक्षा सल्लाहकार इन्द्रजित राई अनि गृह सचिव प्रेम राई सबैलाई यसको जानकारी रहेकोु बयान दिएका छन्।

रायमाझीले पोलेकामध्ये इन्द्रजित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त रहेका प्रेम राई अनि गृहमन्त्री बादल अझै अनुसन्धानमा तानिएका छैनन्।

रायमाझीले भुटानी शरणार्थी समस्या समाधान गर्न प्रयत्न गरेको तर, नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा धेरै संलग्नता नभएको बयान दिँदै केही व्यक्तिसँग कुरा भएको, हेलिकोप्टर चढेको, होटेलमा बसेको स्विकारेका छन्।

रायमाझीको बयानले नक्कली भुटानी प्रकरणमा बादल र प्रेम राई सिधै अनुसन्धानमा तानिनुपर्ने देखिन्छ। तर प्रहरी अनुसन्धान उनीहरूबारे मौन छ।
बादल मात्र हैन उनको छोरा प्रतीक अनि श्रीमती नैनकला थापा समेत सिधै यो प्रकरणमा जोडिएका छन्।

पक्राउ आरोपीले बयानमा नैनकलालाई भेटेरै पैसा दिएको दाबी गरेका छन्। प्रहरीले नैनकलालाई पनि आरोपी बनाएको छैन। प्रतीक विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

प्रमुख आरोपीको बयानले अर्का गृहमन्त्री बालकृष्ण खाँण सिधै संलग्न देखिन्छन्।
तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले मन्त्रालयमै खाँणले पैसा लिएको बयान दिएका छन्।

उनले बयानमा गिरोहका सदस्यले २०७९ जेठमा गृह मन्त्रालयमै आएर एक करोड २४ लाख रकम दिएको र सबै पैसा गृहमन्त्रीको कार्यकक्षमा गएर मन्त्री खाँणलाई बुझाएको बयान गरेका छन्।

खाँणले भने आरोप अस्वीकार गरेका छन्।
उनले बयानमा भुटानी शरणार्थी समस्या समाधान गर्न आफ्नो नेतृत्वमा पहल भएको भन्दै नक्कली शरणार्थी बनाउने धन्दामा संलग्न नरहेको दाबी गरेका छन्।

आङटावा शेर्पा, इन्द्रजित राईले आरोप अस्वीकार गर्दै स्वास्थ्य अवस्था कारण देखाएर विस्तृत बयान छल्ने प्रयास गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*