कोशीमा ब्याडमिन्टन अम्पायर तयार पारिँदै
ब्याडमिन्टन खेलप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पाँचथर सदरमुकाम फिदिममा प्रदेशस्तरीय ब्याडमिन्टन अम्पायर तालिम आयोजना गरिएको छ ।
कोशी प्रदेशका १० जिल्लाका दुई महिलासहित २२ जना अम्पायर तालिम सहभागी थिए । चार दिन चलेको तालिम सोमबार सकिएको छ ।
नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य तथा एसिया सर्टिफाइड अम्पायर दीपक थापा र ब्याडमिन्टन संघका कोशी प्रदेश सदस्य भवानीविक्रम आङदेम्बेले तालिम प्रदान दिएका थिए । तालिममा खोटाङ, उदयपुर, तेह्रथुम र मोरङबाहेक कोशीका १० जिल्लाका प्रशिक्षार्थीले भाग लिएका थिए । ब्याडमिन्टन संघ पाँचथरको संयोजनमा प्रदेश समितिले तालिम आयोजना गरेको अध्यक्ष योगेश्र श्रेष्ठले जनाए ।






