नख्खु–भैँसेपाटी सडक खण्डको काम जेठभित्र सकिन्छ : मन्त्री ज्वाला
काठमाण्डाै – भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु–भैँसेपाटी सडक खण्डको काम यही जेठभित्रमा सकिने बताउनुभएको छ ।
सोमवार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले यस्ताे बताउनुभएको हो । उहाँले आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताउनुभयो । उहाँले अहिले काम निकै उपलब्धिमूलक रहेको भन्दै अब नख्खु–भैँसेपाटी क्षेत्रका बासिन्दाले लामो समयसम्म धुलो र सास्ती बेहाेर्नु नपर्ने उल्लेख गर्नुभयो ।
मन्त्री ज्वालाले अबको एक हप्ताभित्र सडक खण्डको कालोपत्र हुने पनि बताउनुभयो । उहाँले यसअघि सम्बन्धित निकायहरूसँगको समन्वय कम हुँदा विभिन्न समस्या आइरहेकाे भन्दै आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो सडक पछिल्लो समयमा अलि धेरै चर्चा र बहसको विषय थियो । म आउनेबित्तिकै हाम्रो टिम बसेर यो सडककाे काम छिटाे सक्न मातहतका निकायलाई निर्देशन दिएका थियाैँ । सक्रियताकासाथ काम अघि बढेको छ । जेठ महिनाभित्र काम पूरा हुने अवस्था छ । अब यहाँका नागरिकले लामो समय धुलोमा हिँड्नुपर्ने र सास्ती बेहाेर्नु पर्ने अवस्थाको अन्त्य गर्नेछौँ ।’
मन्त्री ज्वालाले आउँदा दिनमा देशभरका सडक, पुलहरू निर्माणका लागि अन्तर–मन्त्रालयसँग समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बजेट प्रस्तुत भइसकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने बताउनुभयो । उहाँले काठमाण्डाै उपत्यकामा खाल्डाखुल्डी पुर्ने काम तीव्र गतिमा अघि बढेको र आउँदाे वर्षको बजेटमा खाल्डाखुल्डी पुर्नका लागि ‘रोड एम्बुलेन्स’ को परिकल्पना गरेको पनि बताउनुभयो ।






