माओवादी मन्त्रीहरु त्यति धेरै बदनाम छैनन् : मन्त्री शर्मा

जनपत्र
६ जेष्ठ २०८०, शनिबार १६:१४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुले राम्रो काम गरेको र त्यति धेरै बदनाम नभएको बताएकी छन् ।

प्रेस सेन्टरको प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले विगतको र अहिलेको सरकारमा माओवादी मन्त्रीहरुले राम्रो काम गरेको दाबी गरेकी हुन् ।

‘हिजो केपी ओलीले नेतृत्व गर्दा होस्, शेरबहादुर देउवाले नेतृत्व गर्दाहोस्, जसले नेतृत्व गर्दा होस् माओवादी मन्त्रीहरु त्यतिधेरै बदनाम छैनन्’ उनले भनिन्, ‘राम्रो परिणाम हामीले कति निकाल्न सक्यौं त्यो एउटा कुरा होला । तर बदमासी गरेको भन्ने कुरा अरुका तुलनामा छैनन् ।’

माओवादी केन्द्रबाटै मन्त्री बनेकी शर्माले अगाडि भनिन्, ‘जे जति राम्रा काम भएका छन् ती माओवादी मन्त्रीकै कारण बढी भएका छन् । अरुले गर्दै गरेनन्, मैले यसो भन्न खोजिराखेको छैन । तर माओवादी मन्त्रीकै कारण बढी भइरहेका छन् ।’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि विगतका कार्यकालमा भन्दा बढी परिपक्वताका साथ काम गरेको मन्त्री शर्माले बताइन् ।

‘प्रधानमन्त्रीज्यूले दुई कार्यकालबाट थप सिकेर…, बीचको कार्यकाल त त्यस्तैत्यस्तै भयो । पहिलो कार्यकाल सिक्ने क्रममा नै थियौं । यो तेस्रो कार्यकाल बढी परिपक्वताका साथ, एकदमै बढी सुझबुझका साथ र स्टेप लिइसकेपछि पछाडि नर्फकने गरेर जसरी कामहरु सुरुवात भएका छन्’ उनले भनिन् ।

मन्त्री शर्माले सरकारले राम्रो काम गरे पनि व्यवस्थित ढंगले प्रचार हुन नसकेको पनि जिकिर गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*