‘राष्ट्रिय बाल चलचित्र महोत्सव’को लागि फिल्म माग
चलचित्र विकास बोर्डले आगामी असार १ गतेदेखि ३ गतेसम्म दाङ जिल्लाको घोराहीमा आयोजना गर्न लागेको प्रथम ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’मा सहभागिताको लागि फिल्म माग गरिएको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै बालबालिकासँग सम्बन्धित रहेर तयार भएका शिक्षामुलक तथा सन्देशमुलक फिल्मको प्रदर्शनको लागि सर्तसहित फिल्म उपलब्ध गराउन आह्वान गरेको हो ।
महोत्सवमा सहभागि हुन जेठ १५ गतेभित्र बोर्डमा निवेदन दिनुपर्ने बोर्डका प्रवक्ता के.एल. बुढाथोकीले जानकारी दिए । निवेदनका साथमा फिल्म जाँच पासको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ । वृत्तचित्र, फिचर वा लघु फिल्मले महोत्सवमा सहभागिता जनाउन सक्ने सूचनामा उल्लेख छ । छनोटमा परि प्रदर्शन भएका फिल्महरुलाई प्रोत्साहन स्वरुप बोर्डले केही रकम समेत उपलब्ध गराउनेछ ।
महोत्सवमा फिल्मको प्रदर्शनीसँगै फिल्मसम्बन्धी हाजिर जवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवं फोटो प्रदर्शनी तथा फिल्मसम्बन्धी नृत्य प्रतियोगिता पनि गरिने बताइएको छ । महोत्सवको दौरान बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले बालबालिकाहरुसँग साक्षात्कार पनि गर्नेछन् । बालबालिकाको विषयमा बनेका फिल्मलाई प्रोत्साहन गर्न बोर्डले महोत्सवको आयोजना गर्न लागेको हो ।






