सार्वजनिक गाडीको भाडा घटाउने तयारीमा बागमती प्रदेश सरकार
हेटौंडा । नेपाल आयल निगमले डेढ महिनामा डिजेल र मट्टीतेलको मूल्य २० रुपैयाँले घटाएसंगै बागमती प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा घटाउने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले गाडीको भाडा घटाउन् तयारी गरेको हो ।
गाडीको भाडा घटाउने बिषयमा आन्तरिक छलफल भइरहेको र त्यस अनुसार केही दिनमानै निर्णय गरिने श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिब आस्मान तामाङले बताउनुभयो । सार्बजनिक गाडीको भाडा घटाउने बिषयमा अहिले छलफलकै चरणमा रहेको र त्यस अनुसार काम गरिने उहाँले बताउनुभयो ।
गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०–१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले फेरी जेठ २ गते देखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०–१० रुपैयाँले भाउ घटाएको छ । संघीय सरकारले अन्तर प्रदेशमा गुढ्ने सवारीका साधनको भाडा घटाएको छ । तर, प्रदेश सरकारले केही दिनमा मात्र घटटाउने जनाएको छ ।
चैत २० गते अघि डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर एक सय ७५ रुपैयाँ थियो । त्यसबेला डिजेलको मूल्य घट्दा पनि सार्वजनिक यातायातको भाडा घटेको थिएन । यातायात व्यवस्था विभागले २०७८ चैत १७ मा इन्धनको बजार मूल्य ५ प्रतिशत वा त्यसभन्दा थप बढे वा घटेमा भाडा समायोजन गर्नुपर्ने निर्णय गरेको थियो ।
वैज्ञानिक प्रणालीअनुसार डिजेलमा ५ रुपैयाँ घट्दा सार्वजनिक यातायातको भाडा दर स्वतः कम हुनुपर्ने हो, तर भाडा नघट्दा यात्रु र उपभोक्ता मारमा पर्दै आएका छन् ।
डिजेलको मूल्य प्रत्यक्ष उपभोक्तासँग नै जोडिन्छ । मूल्य बढ्दा ढुवानी भाडा बढ्छ भने त्यसको प्रत्यक्ष प्रभाव सबै ढुवानी सेवादेखि खाद्य वस्तुसम्ममा पर्छ । डेढ महिनाको बीचमा डिजेलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटेको अवस्थामा सार्वजनिक गाडीको भाडा पनि घटाउने गरी गृहकार्य भैरहेको यातायात व्यवस्था विभागले जनाएको छ।
संघीय सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ । सबैभन्दा लामो रुट काठमाडौं-अत्तरीया-मार्तडी (बाजुरा) (९४४.६ किमी) को २९५९ रुपैयाँ भाडादर कायम भएको छ ।
यस्तै, काठमाडौं-अत्तरीया-चैनपुर(९४४ किमी)को २९४३ रुपैयाँ, काठमाडौं-धनगढी-साँफेबगर (८९९ किमी)को २६९३, काठमाडौं-अत्तरीया-सिलगढीको २४०८, काठमाडौं-महेन्द्रनगरको १९१५, काठमाडौं-सुर्खेतको १७४०,काठमाडौं-धनकुटाको १७२७, काठमाडौं-विराटनगर १४९८ कायम भएको छ । त्यसैगरी महेन्द्रनगर-काँकडभिट्टा (९२२ किमी) को २४७५, सुर्खेत-धरानको २४४२ रुपैयाँ र काठमाडौं-जनकपुर ९०३, भाडा रहेको छ ।






