निक्षेपको ६८ र कर्जाको ५५ प्रतिशत हिस्सा बागमती प्रदेशमै

जनपत्र
२६ बैशाख २०८०, मंगलवार ०६:१६

हेटौंडा । मुलुक संघीयतामा गएसँगै वित्तीय सेवा पनि विकेन्द्रित गर्ने राज्यको उद्देश्य भएपनि त्यसअनुरुप काम हुन नसकेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययनले बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपको करिब ६८ प्रतिशत र कर्जा प्रवाहको करिब ५५ प्रतिशत वाग्मती प्रदेशमै रहेको देखाएको हो ।

प्रतिवेदन अनुसार गत पुससम्म वाग्मती प्रदेशबाट बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप ३७ खर्ब ९ अर्ब ५८ करोड रुपैयाँ छ । गत वर्षको तुलनामा यो १० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यो प्रदेशमा निक्षेप संकलन १५।८ प्रतिशतले बढेको थियो ।

यस्तै, गत पुससम्म बैंक तथा वित्तीय संस्थाले बाग्मती प्रदेशमा मात्र २६ खर्ब ७८ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ३ प्रतिशतले मात्र बढेको हो । अघिल्लो वर्ष यस्तो कर्जा २५ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७९ पुस मसान्तसम्ममा यो प्रदेशमा वाणिज्य बैंकका १ हजार ८ सय १०, विकास बैंकका ३ सय ३०, वित्त कम्पनीका १ सय ८ तथा लघुवित्त वित्तीय संस्थाका ७ सय ७७ गरी जम्मा ३ हजार २५ शाखा सञ्चालनमा छन् । वाग्मती प्रदेशका जिल्लामध्ये पनि काठमाडौं जिल्लामा सबैभन्दा बढी १ हजार १ सय ८४ तथा रसुवा जिल्लामा सबैभन्दा कम ५० शाखा सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, गत पुससम्म बैंक तथा वित्तीय संस्थाले वाग्मती प्रदेशको औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ७।२ प्रतिशतले घटेर ९ खर्ब २ अर्ब ८७ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २४।३ प्रतिशतले वृद्धि भई ९ खर्ब ७३ अर्ब १२ करोड पुगेको थियो । यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३३।७ प्रतिशत छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ७ खर्ब ९१ अर्ब ३८ करोड ९८७।७ प्रतिशत० कर्जा लगानीमा रहेको छ भने सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा कम ६३ करोड ९०।१ प्रतिशत० लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*