हेटौंडामा परमपरागत आरनलाई प्रबिधिमा जोड्दै रोजगारीको सृजना गर्दै
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ फारलाइनमा ५० वर्ष अगाडी देखि आरन व्यावसाय सञ्चालनमा छ । यो आरन ब्यावसायमा हजुरबुबा देखि नाती सम्मले काम गर्दै आएका छन् । ५० वर्ष पहिले निर्वाहमुखी व्यावसायका रुपमा आरनबाट सामान बनाउने गरिएको भएप्नि अहिले भने कृषि औजार कारखानाका रुपमा दर्ता गरेर यो व्यावसाय संञ्चालन गरिएको छ ।
५० वर्ष अगाडी हातले खलाती तानेर आगो फुकेर फलामका सामान बनाउनुपर्ने बाध्यता भोग्दै आएका बृद्ध खिलबहादुर बिश्वकर्मा अहिले भने आधुनीकतामा रमाउँदै बिजुलीका माध्यमले आगो फुक्ने र फलाम तताएर कृषि औजारका सामान बनाउँदै आउनु भएको छ ।
उहाँ भन्दा अगाडीको पुस्ता देखि यो आरन व्यावसाय सुरु गरिएपनि आफ्नै पालामा प्रबिधिका माध्यमले कृषि औजारका सामान बनाएर उहाँले काम गर्दै आउनु भएको छ । उहाँको यो आधुनिक आरनमा हसिया, कचिया, कुटो, कोदालो, कोदाली, कैचि, चुप्पी, चुलेसी, लगायतका सामाग्री बनाइदै आएको छ ।
आरन व्यावसायलाई निर्वाहमुखी भन्दा पनि रोजगारी सृजना गर्ने गतिलो माध्यम समेत भएको छ । अहिले पनि ६ जनाले काम गर्दै आएका छन् । यहाँ कृषि औजार बनाउने काम गर्न पाउँदा अर्काको मुलुकमा कठिन काम गर्नुपर्ने बाध्यताबाट छुटकारा पाएको कृषि औजार कारखानामा कार्यरत उमेश बिश्वकर्मा बताउनुहुन्छ ।
उहाँ मात्र होइन । यस कृषि औजार कारखानामा ६ जनाले प्रतक्ष रुपमा रोजागरी पाएका छन् । बिदेशमा गएर कठिन काममा पसिना बगाउनुभन्दा यहाँनै रोजागरी प्राप्त भएको र आफ्ना परिवार पाल्न सहज भएकोमा उनीहरु खुसी समेत रहेका छन् ।
पहिले सबै काम हातले गरिन्थ्यो । तर, अहिले भने ग्रेडर मेसिन, ओल्डीङ गर्ने मेसिन समेतको प्रयोग गरेर काम गरिदै आएको छ । यही आरनमा हजुरबुबा देखि नाती सम्मले काम गर्दै आएका छन् । हजुलबुबा र अरु पाँच जनाले सामान बुनाउने काम गर्दै आएपनि नाती दिनेश बिश्वकर्माले भने बनाइएका कृषि औजार देशैभरी बिक्री गर्दै आएका छन् । यहाँ तयार गरिएका सामान मकवानपुर, चितवन, काठमाण्डौं, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली लगायतका जिल्लामा बिक्री गर्दै आएको यस आरनका संचालक दिनेश बिश्वकर्मा बताउनुहुन्छ ।
करिब ५ लाख रुपैयाँ लगानीमा यो आरन व्याबसाय सुरु गरिएको छ । यसबाट ६ जनाको परिवार पनि पालिदै आएको छ । आमदानी पनि राम्रै भएपछी तीन पुस्ता अगाडी देखि सञ्चालन गरिएको व्यावसाय नातीले पनि गर्दै आएका छन् । यस व्यावसाय सञ्चालन गर्नका लागि बागमती प्रदेशको युवा परिषद्ले ५० हजार रुपैयाँ अनुदान पनि दिएको थियो । यो अनुदान रकमबाट ग्रेडर र ओल्डीङ मेसिन खरिद गरेर परमपरागत कामलाई प्रबिधिसंग जोडिएको छ ।
युवाहरुलाई उद्यमसंग जोड्नका लागि परमपरागत आरन व्यावसायलाई अहिलेको प्रबिधिसंग जोड्नका लागि सहयोग गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो । कृषि औजारका सामानहरु चाहिने हुनाले पहिलेकै अवस्थामा आरनलाई राख्नुहुन्न र प्रबिधिसंग जोडेपछी अहिलेका युवा पुस्ताले पनि पहिले पुस्तौ देखि गर्दै आएको कामलाई निरन्तर्ता दिनका लागि सहज हुन्छ भनेर थोरै भनेपनि सहयोगका कार्यक्रम ल्याइएको चौलागाईले बताउनुभयो ।