रिलिज रोकिएका दुई चलचित्र एकै मितिमा भिड्दै

जनपत्र
४ बैशाख २०८०, सोमबार ०७:३२

नयाँ वर्षको अवसर पारेर १ वैशाखमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘नाई नभन्नु ल ६’ रिलिज हुन सकेन । निर्माण पक्षसँग अर्को पक्षले यो चलचित्रको आर्थिक लेनदेनमा समस्या देखाउँदै चलचित्र विकास बोर्डमा सेन्सर सिफारिस रोक्न उजुरी दिएपछि यो चलचित्रको समयमै सेन्सर हुन सकेन । सोही कारण यो चलचित्र १ वैशाखमा रिलिज हुन सकेन ।

चलचित्र नाई नभन्नु ल ६ मात्र हैन अर्को चलचित्र ‘प्रसाद–२’ पनि तोकिएको समयमा रिलिज हुन सकेन । यो चलचित्रमा आर्थिक लेनदेनको समस्याले रिलिज हुन नसकेको हो । चलचित्र प्रसाद २ को रिलिज मिति २४ चैत तोकिएको थियो । सो मितिमा सिनेमाका प्रदर्शन रोक्न प्रसाद २ मा लगानी गरेका केशव पाण्डेले अदालतमा मुद्दा दायर गरेका थिए । सोही कारण अदालतबाट यो चलचित्र रोक्नका लागि स्टे अडर आएपछि २४ चैतमा चलचित्र प्रसाद २ रिलिज हुन सकेन ।

अब यी दुवै चलचित्र १५ वैशाखमा रिलिज हुने भएका छन् । नयाँ वर्षमा रिलिज भनेर धुमधाम प्रचार गरिए पनि विकास बोर्डले समयमै सेन्सरका लागि सिफारिसपत्र उपलब्ध नगराएका कारण आपूmहरूले यो चलचित्रको रिलिज मिति १५ वैशाखमा सार्नुपरेको यो फिल्मका निर्माण व्यवस्थापक अनमोल शर्माले बताएका छन् । तर, चलचित्र विकास बोर्डका पदाधिकारी यो कुरा मान्न तयार छैनन् । शुक्रबार रिलिज हुने चलचित्रलाई आपूmहरूले ४ दिनअघि मंगलबार नै सेन्सरको अनुमतिपत्र दिँदा पनि सो चलचित्रको निर्माण पक्षले सिनेमा रिलिज नगरेको बोर्ड सदस्य रवि अधिकारीले बताएका छन् । निर्माण पक्षकै लापरबाहीले तोकिएको सिनेमामा चलचित्र नआएकाले आपूmहरूले त्यसको जिम्मेवारी नलिने उनको कथन छ ।

चलचित्र नाई नभन्नु ल ६ लाई विकास राज आचार्यले निर्देशन गरेका हुन् । यो चलचित्रमा आँचल शर्मा, आर्शीवाद बी क्षत्री, सरोज खनाल, प्रियंका कार्कीसहितका कलाकारको मुख्य भूमिका छ । प्रचारप्रचार राम्रो नभएकाले यो सिनेमा १ वैशाखमा नआएको आरोप छ । तर, निर्माण व्यवस्थापक अनमोल शर्मा आपूmहरूले सिनेमा रिलिजका लागि पर्याप्त प्रचार गरेर पनि निर्धारित समयमा सेन्सर गर्न नसकेका कारण १ वैशाखमा नल्याएको बताउँछन् । यो चलचित्र नयाँ वर्षमा रिलिज नहुँदा अन्य तीन चलचित्र जारी, बुलाकी र बिहे पासलाई फाइदा पुगेको छ ।

२४ चैतमा रिलिज हुने भनिएको चलचित्र ‘प्रसाद–२’ले प्रदर्शनका लागि यसै साता उच्च अदालत पाटनबाट आदेश पाएको छ । अब भने आफ्नो चलचित्र रिलिज हुने यसका निर्माता सुवास थापाले बताएका छन् । प्रसाद २ रिलिज भएपछि उठेको पैसाबाट केशव पाण्डेको पैसा तिर्ने सम्झौता पनि भएको सुवास थापाले बताएका छन् ।

निर्धारित समयमा आफ्नो चलचित्र रिलिज हुन नसकेकै कारण यसलाई १५ वैशाखमा रिलिज गर्न लागिएको निर्माता थापाले बताएका छन् । तर, यही मितिमा अर्को चलचित्र नाई नभन्नु ल ६ आउने भएकाले रिलिज तिथि सरेका यी दुई सिनेमा एकै मितिमा प्रदर्शन हुने भएका छन् ।

चलचित्र प्रसाद २ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । छायांकन सुरु भएको पहिलो दिनमै कलाकार र निर्माण पक्षबीच विवाद भएपछि तीन महिना रोकिएर यो चलचित्रको छायांकन र निर्माण भएको हो । अब भने १५ वैशाखमा जसरी पनि आउने सुदर्शनको कथन छ । यो चलचित्रमा विपिन कार्की, केकी अधिकारी, सुवर्ण थापासहितका कलाकारको मुख्य भूमिका रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*