कम शोजका बावजूद ‘बुलाकी’को व्यापार सुखद
नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शन थालनी गरेको फिल्म ‘बुलाकी’लाई मल्टीप्लेक्सहरुले शोज बाँडफाँडमा ठूलो अन्याय गरेका छन् । शुक्रबारबाटै प्रदर्शनमा आएका अन्य दुई फिल्मलाई पर्याप्त शोज प्रदान गरिँदा ‘बुलाकी’लाई झारो टार्नका लागि मात्र शोज दिइएको देखिन्छ । हुन त हल व्यावसायीहरुले कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गरेको यो पहिलो पटक होइन ।
यद्यपि, कम शोजका बावजूद पनि प्रदर्शनको पहिलो दिन फिल्म व्यापारमा कमजोर देखिएन । देशभरका मल्टीप्लेक्सहरुले प्रदान गरेका शोज र प्राप्त सिंगल थिएटरमा शुक्रबार दिउँसोदेखि साँझसम्म फिल्म हेर्ने दर्शकको चाप सुखद देखिएको थियो । बिहानी शोज भने अपेक्षाकृत हुन सकेन । ‘माउथ पब्लिसिटी’ले दर्शकलाई हलसम्म तानेको निर्माता तथा कलाकार विराज विष्ट बताउँछन् ।
शुक्रबार देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स अन्तर्गतको सिभिल, लाबिम, छाँया सेन्टर, भक्तपुरलगायतका हलमा फिल्मको अकुपेन्सी ६०र७० प्रतिशत आसपास थियो । यही अवस्था काठमाडौंका अन्य मल्टीप्लेक्सहरुमा पनि देखियो । त्यस्तै, नेपालगञ्जको क्यूएफएक्स हलमा फिल्मले पाएको एउटा शो हाउसफुल हुँदा धेरै दर्शकहरु फर्किनु परेको निर्माता विष्टले बताए ।
‘वर्ड अफ माउथ’ बलियो भएकाले शनिबार दर्शकको साथ अझ राम्रो मिल्नेमा विराज विश्वस्त छन् । निर्देशक लक्ष्मण सुनार पहिलो दिनको व्यापार र प्रतिक्रियाले उत्साहित बनाएको बताउँछन् । अभिनेत्री सुरक्षा पन्त फिल्म हेर्ने दर्शकको उपस्थिति राम्रो देखिएको र प्रतिक्रिया पनि अब्बल आएकोमा खुसी व्यक्त गर्छिन् । त्यस्तै, अभिनेता नरेन खड्का फिल्मलाई दर्शकले रुचाएकोमा दंग छन् ।
कर्णाली क्षेत्रमा प्रचलनमा रहेको जारी प्रथाको विषयलाई सशक्त रुपमा उठान गरिएको यो फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, प्रकाश कँडेल, सरस्वती खत्रीलगायतको अभिनय छ । फिल्मको निर्माता टोपेन्द्र विष्ट हुन् । फिल्ममा सुरक्षा र नरेनको काम निकै प्रशंसनीय छ ।






