गरुडा नगरपालिकाको कार्यालयमा तोडफोड
रौतहटको गरुडा नगरपालिका कार्यालयमा तोडफोड गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा परेर गरुडा नगरपालिका–५ का गजेन्द्र साह घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
सोही नगरपालिकाको नगरप्रमुखका प्रत्याशी दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाई फायर गरेको थियो ।
प्रदर्शनकारीको ढुंगामुढाबाट नगरपालिका वरिपरी रहेका सवारीसाधनमा क्षति भएको छ । प्रहरीले दीपक यादवसहित चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिए ।
गरुडा नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै पछिल्लो समयमा आन्दोलन गर्दै आएका स्थानीय दीपक यादवले बुधबार गाउँलेलाई उचालेर नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न गरुडा आएका थिए । मानिसहरूको भीडलाई देखेपछि नजिकै रहेको इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वीरेन्द्र पासवानको कमान्डमा रहेका सुरक्षाकर्मीले नगरपालिकालाई सुरक्षा दिएका थिए ।
नगरपालिकाको कार्यालयमा ताला लगाउन खोज्दा दीपक यादवको समूहलाई प्रहरीले रोकेपछि प्रदर्शनकारीले ढुंगामुढा प्रहार गर्दै टिपर, मोटरसाइकल, कार्यालयको झ्यालमा क्षति पु¥याएका थिए ।
प्रदर्शन चर्किएपछि प्रहरीले ११ राउन्ड हवाई फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको एसपी बुढा मगरले जानकारी दिए । प्रदर्शनकारीको ढुंगामुढाबाट नगरपालिका वरिपरि रहेका सवारीसाधनमा क्षति भएको छ भने प्रहरी निरीक्षकसहित चार जना प्रहरी घाइते भएका बुढा मगरले बताए ।
यसैबीच, प्रहरीको गोली लागेर घाइते भएका यादवको पाखुराबाट गोली वारपार भएपछि स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको स्थानीयले बताए । घाइते युवकको अवस्था सामान्य रहेको छ । तर, गोली लागेर नै घाइते भएको सम्बन्धमा प्रहरीले अहिलेसम्म पुष्टि गरेको छैन । ढुंगा लागेर पनि घाइते भएको हुनसक्ने आशंका गर्दै एसपी मगरले वीरगन्ज पुगेपछि यथार्थ कुरा आउने बताए ।
दीपक यादवसहित चार जनालाई इलाका प्रहरी कार्यालय गरुडाका प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीका एसपी मगरले बताए ।






